बागलुङ, १९ पुस– बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन ग्रामीण क्षेत्रका अभिभावकमा जनचेतना बढाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले सुझाएका छन् ।
स्वास्थ्य कार्यालय बागलुङ र सुआहारा परियोजनाको आयोजनामा सोमबार सम्पन्न बागलुङका दशवटै पालिकाको समीक्षा कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरुले हरेक अभिभावकलाई आफ्ना बालबालिकाको स्वास्थ्यप्रति सचेत हुने वातावरण बनाउन समेत आग्रह गरेका हुन् ।
स्वास्थ्यकर्मीहरुका अनुसार, ग्रामीण क्षेत्रमा अहिलेपनि पोषणयुक्त खानाभन्दा जंकफुड खाने बानी रहेको, समयमा गर्भवती महिलाले स्वास्थ्य परीक्षण नगर्ने, गरेपनि नियमित नहुने, गर्भ अवस्था र सुनौला १ हजार दिनमा पोषणयुक्त खानेकुरा नखाने प्रवृत्तिका कारण बाल पोषणको अवस्था कमजोर देखिएको छ ।
‘हाम्रो समाजमा अधिकांसले अझै पोषणबारे बुझीसक्नुभएको छैन’ जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले भनिन्, ‘जिल्लाको यकिन तथ्यांक संकलन गरेर विश्लेषण गर्ने लक्ष्यसहित समीक्षा गरिरहेका छौं ।’ समीक्षामार्फत पोषणको अवस्थामा सुधार गर्ने स्वास्थ्य कार्यालयको योजना छ ।
केही बर्षअघिसम्म बागलुङमा एक मात्रै पोषण गृह थियो । पछिल्लो समय पालिका तहमा पनि एक÷एक केन्द्र पर्नेगरी १३ वटा केन्द्र स्थापना भएका छन् । ती केन्द्रमा कति बालबालिका सूचिकृत छन्, उनीहरुले कति सेवा पाए, कति उपचार भए र स्वास्थ्यको अवस्थाबारे स्वास्थ्यकर्मीले प्रस्तुतीकरण गरेका थिए ।
ढोरपाटन नगरपालिकको स्वास्थ्य शाखा प्रमुख केशव थापाले गण्डकी प्रदेशमै ढोरपाटन स्वास्थ्य क्षेत्रमा कमजोर रहेको बताए । गत आर्थिक बर्षमा मात्रै ढोरपाटनमा ७ जना कुपोषित बालबालिकाको उपचार भएको थियोभने अन्य पालिकामा कुपोषित बालबालिका भेटिएपनि कम संख्यामा भेटिएका थिए ।