बागलुङ, १४ माघ– बडिगाड गाउँपालिकामा क्षयरोगीका बिरामी बढ्दै गएका छन् । पछिल्लो पाँच महिनायता बडिगाड गाउँपालिकामा ३६ जनामा क्षयरोग पहिचान भएको छ ।
अघिल्लो आर्थिक वर्षमा जिल्लाभरी एक सय ८५ जनामा संक्रमण देखिएको थियो । तीमध्ये ५६ जना बडिगाड गाउँपालिकाकै थिए ।
साउनयता गरिएको परीक्षणमा जिल्लाभर ८७ जना नयाँ संक्रमित पहिचान हुँदा बडिगाडका मात्रै ३६ जना रहेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । अघिल्लो वर्ष पहिचान भएकामध्ये केही नियमित औषधि सेवनपछि संक्रमणमुक्त भएका छन् ।
गत आर्थिक वर्षमा जिल्लाभर छ जना क्षयरोगका बिरामीको मृत्यु हुँदा बडिगाडका चार जना थिए । स्वास्थ्य कार्यालयले गरेको नमूना परीक्षणमा बडिगाडमा क्षयरोगका बिरामीको संख्या बढ्दो भेटिएपछि गाउँपालिकाले बिरामी पहिचान थालेको थियो ।
पालिकाले सञ्चालन गरेको क्षयरोगी पहिचान कार्यक्रमअन्तर्गत आठ जना बिरामी फेला परेको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र केसीले जानकारी दिए । पालिकाको स्वास्थ्य शाखा, धौलागिरि अस्पताल बागलुङ र पोखराका विभिन्न अस्पतालमा गरिएको परिक्षणमा ३६ जना नयाँ बिरामी थपिएका छन् ।
क्षयरोगका बिरामी बढी भएका वडा नं २, ४, ५ र ६ मा स्वास्थ्य शाखाले ‘क्षयरोगीको खोजी’ अभियान नै सञ्चालन गरेको छ । अभियानका क्रममा शंकास्पद दुई सय ३७ को खकारको नमूना संकलन गरी परीक्षण गरिएको केसीले बताए । वडा नं ३ र ९ मा भने संक्रमित भेटिएका छैनन् ।