बागलुङ, २४ माघ– बागलुङ नगरपालिकाले नगरभित्र क्रियाशिल सहकारी संस्थाहरुको पाश्र्वचित्र तयार पारेको छ । सहकारी तथा रोजगार प्रर्वद्वन शाखाको अगुवाईमा १ सय ६ वटा सहकारीको विस्तृत बिवरण तयार पारिएको हो ।
आफ्नै सहकारी ऐनसमेत ल्याएको नगरपालिकाले विस्तृत विवरण ल्याउँदा आगामी दिनमा सहकारी क्षेत्रको विकास हुने अपेक्षा लिइएको सरोकारवालाले बताए । पाश्र्वचित्र बिमोचन गर्दै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बैंकहरु जस्तै बागलुङका सहकारी पनि मर्ज भएर ठूलो लगानी गर्ने हैसियतमा पुग्नुपर्ने बताए ।
बागलुङ बजारमा कृषि बजार बनाएर एकीकृत रुपमा फलफूल तथा तरकारी बिक्री गर्ने, आयात प्रतिस्थापन गर्ने तथा आफ्नै उत्पादनबाट आत्मनिर्भर बन्न सक्ने काम गर्न चाहेको श्रेष्ठले बताए । त्यसका लागि कृषि सहकारीहरुले सक्रियता लिएमा नगरपालिकाले समेत लगानी र व्यवस्थापनमा साथ दिने आश्वासन दिए ।
कार्यक्रममा उपप्रमुख राजु खड्काले व्यक्तिगत फाइदा लिन खोज्ने संचालकहरुका कारण सहकारीहरु धरासायी बन्न लागेकोप्रति चिन्ता व्यक्त गरे ।
त्यस्तै वार्षिक प्रतिवेदनमा एकरुपता बनाउनुपर्ने, कर तिर्न पर्छ भनेर आय नदेखाउने, दुइथरी अडिट रिपोर्ट बनाउने जस्ता कामले सहकारी बदनाम भएको भन्दै खड्काले आफ्नो समीक्षा गरेर जनताको लगानी सुरक्षा गर्न सहकारीहरु सक्रिय बन्नुपर्ने अन्यथा नगरपालिकाले कारवाहीको प्रकृयामा जान बाध्य हुने चेतावनी समेत दिए ।
सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख तथा वडा नंं १३ का अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षता, शाखाका प्रमुख प्रेमप्रसाद शर्माको संचालन र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाको स्वागतमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी, नेप्स्कुनका संचालक चण्डीप्रसाद शर्मा, जिल्ला सहकारी संघकी अध्यक्ष हुमाकुमारी जिसी अञ्जु, बहुउद्धेश्यीय सहकारी संघका अध्यक्ष दुर्गा कुँवर, कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापा, बागलुङ दुग्ध सहकारी संघका अध्यक्ष दिपक गौतम, तरकारी उत्पादक सहकारीकी अध्यक्ष अमृता थापाले सहकारी क्षेत्रको बिकासमा सबैको चासो र सहयोग चाहिने बताए ।
उक्त अबसरमा सहकारी संस्थाहरुको वार्षिक गतिविधि, उनीहरुको आय, नाफा तथा व्यवसायमा गरेको लगानीसहितका प्रतिवेदन पेश गरेर समीक्षात्मक क्रियाकलाप समेत संचालन गरिएको थियो ।