बागलुङ, १ फागुन– जिल्लाको गलकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा हरिचौरमा महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न भएको छ । नगर अस्पतालमा भएको शिविरमा १४७ महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
परीक्षणको क्रममा १० जनाको पाठेघरको मुखमा मासु पलाएको भेटिएको नगर अस्पतालकी अनमी शोभा काउचाले बताइन् । शिविरमा नगर अस्पतालकी स्टाफ नर्स रिमा बोसेलसहित स्वास्थ्यकर्मीले परीक्षण र सेवा उपलब्ध गराएका थिए ।
शिविरमा आएका महिलामध्ये ६ जनालाई रिङ राखेर आँङ खस्नबाट बचाइएको छ । बर्षौदेखि समस्या भएपछि अन्य रोग लागेको भन्दै घरैमा बस्ने, सही उपचार नपाउने भएकाहरुलाई यो शिवर उपयोगी भएको काउचाको भनाई थियो ।
उपचारको क्रममा ८ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ भने एक जनाको क्यान्सरको संभावना रहेको देखिएको छ । परिक्षणका क्रममा धेरैजसो महिलाले गुप्तांग चिलाउने, योनीबाट सेतोपानी बग्ने जस्ता समस्या भएको बताएका थिए ।
नगरपालिकाले वडा वडामा रहेका स्वास्थ्य चौकीमा महिलाको पाठेघरको समस्या सम्बन्धी निशुल्क शिविरहरु संचालन गर्दै आएको छ । प्रजनन् स्वास्थ्य समस्यामा परेकाहरुलाई निशुल्क उपचारको व्यवस्थापनमा पनि नगरपालिकाको स्वास्थ्य शाखाले नियमित काम गरेको शाखा प्रमुख शुसिल पौडेलले जानकारी दिए ।