बागलुङ, २३ फागुन– गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ । बागलुङ पर्यटन विकास समिति तथा पर्यटन अभियान्ताको पहलमा केबलकार निर्माणको सम्भाव्यता अध्ययन सुरु गरिएको हो ।
केबलकार सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्न प्रारम्भिक अध्ययन थालिएको छ । कालिका मन्दिर आउने पर्यटकलाई भकुण्डेहुँदै भैरवस्थान मन्दिरको दर्शन गराउने उद्देश्यले केबलकारको अवधारण ल्याइएको हो ।
‘हामी केवलकार निर्माणको प्रारम्भिक अध्ययनमै छौँ, अहिले प्राविधिकले पहिलोपटक सर्वे गर्नुभएको छ, धेरै हिसाबले कालिका मन्दिर नजिकैबाट भकुण्डेसम्म केबलकार निर्माण गर्न सहज देखिएको छ’ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले भने ।
‘लामो पुल हेर्ने र कालिका मन्दिर दर्शन गर्न आएका पर्यटकलाई भकुण्डे पु¥याउने र भकुण्डेलाई सांस्कृतिक गाउँका रुपमा विकास गर्नसके केबलकार चल्छ’ चोखालले भने, ‘यसका लागि नगरपालिकाले पहल र स्थानीय उद्यमीले साझेदारीमा काम गर्नुपर्ने हुन्छ ।’
भकुण्डे गाउँको बराह ताल, हीरा ताल, मुलाबारी भ्यू–टावर, साँस्कृतिक संग्राहलय र घरबासमा पाइने स्थानीय परिकारको स्वादका कारण भकूण्डे पुग्ने पर्यटकको संख्या बढ्दो भएकाले केबलकारको अवधारणा ल्याइएको हो ।
कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार सञ्चालनका लागि प्राविधिक हिसाबले सफल देखिएको केबलकार नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकाल बताउँछन् । उनका अनुसार, अध्ययनले केवलकार संचालन गर्न उचित देखिएको छ । अध्ययनले केबलकार निर्माणका लागि झण्डै १ अर्ब ५८ करोड लाग्ने देखाएको उनको भनाई छ ।