गलेश्वर, ३ चैत्र– फापरको झिलिङ्गा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अर्गानिक जुस मुस्ताङका मौलिक उत्पादन हुन् । प्रचारप्रसारको अभावमा जिल्लाभित्रै सीमित रहेका यी रैथाने उत्पादनले अब भने बाहिरी बजारमा आफ्नो स्वादलाई चखाउन पाउने भएका छन् ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले महिला उद्यमीलाई ‘डिजिटल मार्केटिङ’ सम्बन्धी तालिम प्रदान गरेपछि आफ्नो उत्पादनलाई बजारमा पठाउने तयारी भएको छ ।
जिल्लामै खपत हुने फापरको झिलिङ्गा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको जुसलगायत हिमाली रैथाने उत्पादनको माग काठमाडौँ र पोखरामा उच्च छ । व्यापारिक ज्ञानको अभावमा जिल्लाभित्र सीमित रहेका उत्पादन अब ‘डिजिटल मार्केटिङ’ का माध्यमबाट जुनसुकै ठाउँमा पु¥याउन सकिने तालिमका प्रशिक्षक आँखीझ्याल टेक्नोलोजिका इञ्जिनियर उज्ज्वल पौडेलले जानकारी दिए ।
जिल्लामा उत्पादन हुने वस्तुबारे अनलाइनका माध्यमबाट थाहा हुने र सिधा सम्पर्कबाट खरिद गर्न पाउने पौडेलले बताए । अनलाइन, इमेल, इन्टरनेट, सामाजिक सञ्जालका माध्यमबाट पर्यटन प्रवद्र्धन र उत्पादनको बजारीकरणको उपायबारे जान्न पाउँदा यहाँका महिला उद्यमी उत्साहित भएका छन् ।