पर्वत, २९ चैत्र– एक सातायता पर्वत अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा दैनिक ज्वरोका मात्र दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
ज्वरो, रुघाखोकी लगायत कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले जानकारी दिइन् ।
पहिलाभन्दा दोब्बरले बिरामीको संख्या बढिरहेको जानकारी दिदै उनले दूषित पानीको प्रयोगका कारण बिरामीको संख्या बढेको हुनसक्ने बताइन् । कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएपनि अस्पतालले परीक्षण भने नगरेको उनको भनाई छ । अस्पतालका ५६ शय्या बिरामीले भरिभराउ भएका छन् ।
बिरामीमा ज्वरो, रुघाखोकी, टाउको दुख्ने, बान्ता आउने लगायतका लक्षणहरु देखिने गरेका छन् । मौसम परिवर्तनका समयमा यस्ता बिरामी बढ्ने डा. अधिकारीले बताइन् । पर्वत अस्पताल मात्र नभइ स्थानिय निजी अस्पताल, क्लिनिक र ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीमा समेत बिरामीको संख्या बढेको बताइएको छ ।