बागलुङ, ९ बैशाख– गण्डकी प्रदेशका दश जिल्लाका आयुर्वेद स्वास्थयकर्मीलाई पूर्वकर्म तथा योग तालिम दिईएको छ । स्वास्थ्य तालिम केन्द्र पोखराले आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धिका लागि पूर्वकर्म तथा योग तालिम सञ्चालन गरेको हो ।
धौलागिरी आयुर्वेद औषधालय बागलुङमा आयोजना गरिएको तालिममा म्याग्दी, लमजुङ र स्याङ्जाबाट दुई÷दुई जना र अन्य ७ जिल्लाबाट एक÷एक जना आयुर्वेद स्वास्थ्यकर्मी सहभागि थिए । प्रदेशका ११ जिल्लामध्ये तनहुँबाट भने आयुर्वेद स्वास्थ्यकर्मी तालिममा सहभागि भएनन् । योगका लागि प्रदेश स्तरमा नै चर्चामा रहेको धौलागिरी आयुर्वेद औषधालयले तालिमको संयोजन गरेको थियो ।
छ दिनसम्म चलेको तालिमको शुक्रबार समापन गरिएको छ । तालिमको सहजिकरण धौलागिरी आयुर्वेद औषधालय बागलुङका प्रमुख डा. सरोज कुमार राय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका प्रमुख डा. रामप्रबोध मण्डल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मनाङका प्रमुख डा. शंकर गौतमले सहजीकरण गरेका थिए ।
आयुर्वेद चिकित्सालाई प्रभावकारी बनाउनका लागि स्वास्थ्यकर्मीलाई पूर्वकर्म तथा योग तालिम दिईएको प्रशिक्षक डा. सरोजकुमार रायले बताए । तालिमको समापन गर्दै उनले सिकेका कुरा स्वास्थ्यकर्मीले व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।