पोखरा, १९ बैशाख– गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते बिहिबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको एक सातामै मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको पाण्डेको तयारी छ ।
कांग्रेस र माओवादीले आलोपालो गरेर मुख्यमन्त्री बन्ने सहमति अनुसार गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । सरकारमा अहिले पाण्डेसहित विनाविभागीय मन्त्रीका रूपमा सरस्वती अर्याल तिवारी र सुशीला सिम्खडा रहेका छन् । गण्डकी प्रदेश सरकारमा हाल सात मन्त्रालय मात्रै कायम गरिएको छ ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका सात (सभामुख बाहेक), राप्रपाका दुई र नेकपा (एकीकृत समाजवादी)का एक जना सांसद रहेका छन् ।