बागलुङ, १ जेठ– बागलुङ नगरपालिकाले उपभोक्ता हितका लागि उपभोक्ता तथा बिक्रेता सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । बागलुङ बजार क्षेत्रमा उपभोग्य बस्तुहरुको सघन अनुगमनको योजना बनाएको नगरपालिकाले अनुगमन पूर्व उपभोक्ता र बिक्रेता दुवैलाई सचेत गारउन लागेको हो ।
जेठ २ गतेका लागि उपभोक्ता र बिक्रेताका लागि सचेतना कार्यक्रम आयोजना गरेको नगरले बिभिन्न सरोकारवाला निकायलाई कार्यपत्र तयारीका लागि अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ता मञ्चले सचेतनाका लागि कार्यपत्र तयार गर्ने छन् ।
बागलुङ नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको बैठकले उपभोक्ता र बिक्रेता सचेतना अभियान थालेको समितिका संयोजक राजु खड्काले बताए ।
‘बजारमा उपभोक्ताका कयौं गुनासा छन्, अनुगमनलाई तिब्र र चुस्त बनाउनुपर्ने छ’ खड्काले भने ‘कतिपय उपभोक्ता हित बिपरीतका कार्यहरु जानकारीको अभावले भएका छन्, सचेत गराउने र गहिरो गरी अनुगमन गर्ने योजना बनाएका छौं ।’
नगरले उपभोक्ता हितका लागि बनेका ऐन कानूनले तोकेका दण्ड र सजाय गर्नेगरी अनुगमन गर्ने निर्णय गरेको खड्काले बताए । ‘हामीले अनुगमन गर्ने तर सचेत मात्रै गराउने तर कारवाही नगर्दा अपस्था उस्तै छ’ खड्का भने ‘सचेतनामार्फत जानकारी गराउने, त्यसपछि अनुगमन र कारवाही प्रकृया अघि बढाउने निर्णयमा पुगेका छौं ।’
उपभोक्ता हित संरक्षण समितिले उपभोग्य बस्तुहरुको गुणस्तर र मापदण्डमा कुनैपनि सम्झौता नगरी उपभोक्ताका हितमा काम गर्नेगरी योजना तयार गरेको समितिका सदस्य सचिव युक्तप्रसाद सुवेदीले बताए । समितिले बजारका व्यवसायीलाई आफ्नो व्यवसायलाई उपभोक्तामैत्री र चुस्त बनाउन आग्रह समेत गरेको छ ।