बागलुङ, ५ जेठ– राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले उपभोग्य बस्तुको बजारमुल्य समायोजन हुनुपर्ने माग गरेको छ । सरकारले इन्धनको मुल्य घटाउँदासमेत उपभोग्य बस्तुहरुको बजारमुल्य बढीरहेको भन्दै मञ्चले मुल्य समायोजनाका लागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो ।
उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि हुँदा उपभोग्य बस्तुको भाउ बढाउने व्यवसायीले पेट्रोलियम पर्दाको मुल्य ह्वात्तै घट्दा मुल्य समायोजनामा चासो नदिएको उल्लेख छ । बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई भेटेर उपभोक्ता मञ्चले बजार मुल्य समायोजनाका लागि चासो देखाउन आग्रह समेत गरेका छन् ।
‘इन्धनको भाउ बढ्दा बढ्ने र घट्दा घट्ने बैधानिक एवं बैज्ञानिक पाटो बन्नुपर्ने थियो तर त्यसो हुन सकेको छैन्’ ध्यानाकर्षण पत्रमा भनिएको छ ‘बजारमुल्य समायोजन गरी उपभोक्ता हित प्रवद्र्धनमा टेवा पु¥याई सहयोग गरिदिन अनुरोध छ ।’
मञ्चले सवारीसाधनको भाडादर समेत समायोजनाका लागि माग गरेको छ । लामो दुरीका सवारी साधनको भाडादर सरकारले निर्धारण गरेको भएपनि छोटो दुरीका सवारीले मनपरी भाडा असुल्दा उपभोक्ता मर्कामा परेको अध्यक्ष श्रेष्ठले बताए ।
‘ढुंगा, बालुवा, गिटी ढुवानी भाडादर अत्यान्तै महंगो हुनुको साथै अनियमितता प्रचुर मात्रामा बढेको अवस्था छ’ श्रेष्ठ भन्छन् ‘यस्ता बस्तु तथा सेवाहरु उपभोग गर्दा उपभोक्ता प्रत्यक्ष मर्कामा परेका छन् ।’