तस्बिर : प्रकाश गैरे
बागलुङ, १३ जेठ– जिल्लाको ताराखोला गाउँपालिकामा भीर माहुरीको मह निकाल्न थालिएको छ । जेठ महिना लागेसँगै ताराखोलामा भीर माहुरीको मह निकाल्न थालिएको हो ।
ठुलाभिर र जुल्फे सामुदायिक वनमा गरी १२ घार माहुरीको मह काढ्न थालिएको स्थानीय नारायण घर्ती मगरले जानकारी दिए । हालसम्म १ सय लिटर मात्र मह जम्मा भएको भिराउटे रतनबहादुर घर्तीले बताए ।
भीर माहुरीको मह २ सय मिटर अग्लो पहरामा ८० देखी १ सय २० आख्ले पराङ झारी, धुपधजा, हाचक, भुस्केटसहित पुजा गरी मह काढ्न सुरुवात गर्ने चलन छ भने मह भने भिराउटेले वनको देवी देवतालाई पुजा गरे पश्चात मात्र खाने गरिन्छ ।
पहिले जस्तो यो वर्ष मह उत्पादन नभएको र माहुरीलाई उपयुक्त समयमा २ सय लिटरभन्दा बढी उत्पादन हुने घर्तिले बताए । गत वर्ष सोहीे स्थानमा १६ घार माहुरीको मह काढिएको थियो । माहुरीको महलाई बजारमा गतवर्ष १ मानालाई १ हजार ५ सय रुपैयाँमा बिक्री गरिएको थियो । यो वर्ष भने मुल्य वृद्वि गरेर २ हजार रुपैयाँ माना बजारमा बिक्री गरिने उनीहरुको योजना छ ।