बागलुङ, १२ असार– जिल्लाका सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । बागलुङका चार नगरपालिका र छ गाउँपालिकाले पाँच अर्ब ९६ करोड ७७ लाख १७ हजार छ सयको बजेट ल्याएका हुन् ।
आर्थिक वर्ष २०८०–८१ को लागि सङ्घीय सरकार, प्रदेश सरकारको अनुदान र आन्तरिक आयका आधारमा बजेट पेस गरिएको पालिकाहरुले जनाएका छन् । जिल्लाको सवैभन्दा ठुलो नगरपालिका बागलुङ नगरपालिकाले एक अर्ब ३३ करोडको बजेट ल्याएको छ ।
गलकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६८ करोड १२ लाख १८ हजार बजेट ल्याएको छ । गल्कोटले वित्तीय समानीकरण अनुदानबाट ११ करोड ३८ लाख, राजस्व बाँडफाँडबाट १० करोड ९५ लाख, सशर्त अनुदानबाट ३६ करोड १० लाख, विशेष अनुदानबाट एक करोड ५० लाखसहितको बजेट ल्याएको हो ।
त्यस्तै जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७२ करोड चार लाख ६८ हजार बजेट सार्वजनिक गरेको छ । ढोरपाटन नगरपालिकाले ५५ करोड २४ लाखको बजेट प्रस्ताव गरेको छ । तमानखोला गाउँपालिकाले ३० करोड ३८ लाख ४९ हजार बजेट ल्याएको छ ।
तमानखोला गाउँपालिकाको चालु खर्च चार करोड ४० लाख, संघीय सशर्त अनुदान ११ करोड ७५ लाख, समपूरक अनुदान ७० लाख, संघीय विशेष अनुदान ९० लाखका आधारमा बजेट तयार गरिएको हो । काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड १२ लाख ३४ हजारको बजेट ल्याएको छ ।
बडिगाड गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६७ करोड १९ लाख ६४ हजारल बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । त्यस्तै ताराखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३६ करोड ६७ लाख ९३ हजार बजेट पेस गरेको छ । बरेङ गाउँपालिकाले ३१ करोड २९ लाख ८१ हजारको बजेट ल्याएको छ । निसीखोला गाउँपालिकाले ४६ करोड ४६ लाख ८० हजारको बजेट प्रस्तुत गरेको छ ।