बागलुङ, १४ असार– ढोरपाटनका किसानहरु व्यवसायिक स्याउ फलाउने लक्ष्य लिएका छन् ।
व्यवसायिक स्याउ फलाउने लक्षका साथ अगाडि बढेका ढोरपाटन नगरपालिका–९ को नवी गाउँका किसानहरुले मुस्ताङबाट स्याउका बिरुवा लिएर रोपेका छन् । स्थानीय १० जना किसानको ८० रोपनी जमिनमा मुस्ताङबाट ल्याइएका गोल्डेन र रोयल जातको १ हजार २ सय स्याउका बिरुवा रोपिएको किसानहरुले बताएका छन् ।
यसअघिका अमिलो स्याउ बजारमा बिक्री गर्न नसकेका किसानले यो पटक भने व्यवसायिक उत्पादन गर्न लागेको स्थानीय इन्द्रबहादुर सुनारले बताए । गत फागुनमा पहिलो चरणमा रोपिएका बिरुवा आर्कषक र हरियो भैसकेको उनको भनाई थियो ।
आगामी बर्षपनि बिरुवा लगाउने उद्देश्यले स्थानीय किसानले खाडल खनेर राखेका छन् । अमिलो भएकोले बजारीकरण नभएपनि गोल्डेन र रोयलबाट फाइदा कमाउन सकिने सुनारले बताए । ती स्याउबाट मिठो फल फल्ने स्थानीयले बिश्वास लिएका छन् । स्याउबाट आगामी ५ बर्षमा कम्तिमा ५ लाख रुपैयाँ कमाउने लक्ष रहेको सुनारले बताए ।
२ हजार ९ सय मीटर उचाइदेखि माथी भएकोले ढोरपाटनमा स्याउको व्यवसायिक उत्पादन गर्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताए । बागलुङकै गलकोटको निलुवा, निसेल ढोर र तमानखोलाको लामेलामा पनि स्याउ लगाएर किसानलाई आत्मनिर्भर बनाउन सकिने भट्टराई बताउँछन् ।