बागलुङ, १० साउन– अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष २०७९/०८० मा बागलुङको संघिय अनुदान बजेटको पूजिगत खर्च बढेको छ । अंकमा मात्र नभई खर्च गर्न सक्ने क्षमतामा पनि वृद्दि भएको देखिएको हो ।
अघिल्लो आर्थिक बर्ष ५८ प्रतिशत मात्रै खर्च गर्न सकेको पूँजिगत कोष आब २०७९/०८० मा ७२ प्रतिशत पुगेको हो । पूँजिगत बजेट अघिल्लो बर्ष १ अर्ब ५४ करोड २६ लाख ९२ हजार रुपैयाँ रहेकोमा ८९ करोड ८५ लाख ५८ हजार रुपैयाँ खर्च भएको थियो । पछिल्लो बर्ष २ अर्ब ३३ करोड ८३ लाख रहेको बजेटमा १ अर्ब ६८ करोड २० लाख खर्च भएको छ ।
जिल्लाको चालु खर्च भने अघिल्लो बर्षको तुलनामा पछिल्लो बर्ष २ प्रतिशतले घटेको छ । कर्मचारी कटौती लगायतका कारणले उक्त खर्च कम भएको हो । अघिल्लो बर्ष ९४ प्रतिशत चालु खर्च भएकोमा पछिल्लो बर्ष ९२ दशमलब ९२ प्रतिशत भएको हो । चालु र पूँजिगत समेतको कुल खर्चमा पनि अघिल्लो बर्षको तुलनामा पछिल्लो बर्ष १ प्रतिशत खर्च भएको देखिएको हो ।
तर, प्रदेश सरकारबाट बिनियोजित बजेट तर्फको खर्च भने कम देखिएको छ । अघिल्लो बर्ष ८७ प्रतिशत खर्च भएकोमा पछिल्लो बर्ष ७३ प्रतिशत भएको हो । अघिल्लो बर्ष २ अर्ब ९ करोड पूँजिगत बजेटमा १ अर्ब ८४ करोड खर्च भएको थियो । पछिल्लो बर्ष भने २ अर्ब ४१ करोड बजेटमा १ अर्ब ७७ करोड खर्च गरेर ७३ प्रतिशत प्रगती गरेको देखिन्छ । चालुतर्फ भने अघिल्लो बर्षको तुलनामा खर्च बढेको छ । अघिल्लो बर्ष ७९ करोड ६ लाखमध्ये ५९ करोड ६ लाख मात्रै खर्च भएकोमा पछिल्लो बर्ष ७६ करोड १२ लाख बजेटबाट ६१ लाख ७७ हजार खर्च भएको हो । अघिल्लो बर्ष ७४ प्रतिशत खर्चमा बढेर पछिल्लो बर्ष ८१ प्रतिशत पुगेको हो ।
राजश्वतर्फ पनि अघिल्लो बर्षको तुलनामा संघ र प्रदेश दुवैतर्फको राजश्व बढेको छ । अघिल्लो बर्ष संघियत राजश्व १ अर्ब ३ करोड ९७ हजार राजश्व उठेकोमा पछिल्लो बर्ष १ अर्ब २१ करोड ९ लाख र प्रदेश तर्फ १४ करोड राजश्व उठाएकोमा पछिल्लो बर्ष २४ करोड राजश्व उठाएको हो । अधिकांस राजश्व असार महिनामा उठ्ने गरेको कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले बताए ।