बागलुङ, ८ जेठ– धौलागिरी कालिका यातायात प्रा.लि. बागलुङको वनभोजसहित पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै धौलागिरि अञ्चल जिप व्यवसायी समितिका संस्थापक अध्यक्ष एवंम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सदस्य शशीकपुर श्रेष्ठले सबैसंग सहकार्य गरेर यातायात व्यवसायलाई व्यस्थित बनाउनुपर्ने बताए । व्यवसायी बीचको एकताले सेवाग्राहीलाई राम्रो सेवा दिन सकिने भएकाले गुनासोरहित क्षेत्र बनाउन स्वस्थ्य प्रतिस्पर्धा गर्न श्रेष्ठको जोड थियो ।
कार्यक्रममा समितिका संरक्षक कुमार खड्का, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका गण्डकी प्रदेशका सहसंयोजक एवम् धौलागिरी गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसी, महासंघका गण्डकी प्रदेश सदस्य अध्यक्ष बिष्णुप्रसाद अधिकारी र धौलागिरि अञ्चल जिप व्यवसायी समितिका पूर्व वरिष्ठ उपाध्यक्ष हरिबहादुर जिसी सन्तोषले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा धौलागिरी कालिका यातायात प्रालिका महासचिव दिनेश बोहोराले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सञ्जन आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम प्रालिका अध्यक्ष जयन्द्रराज पन्तको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष मनोजकुमार केसीको स्वागत र महासचिव दिनेश बोहोराको संचालनमा सम्पन्न भएको थियो ।
महिला उद्यमशिलता विकास सहकारीको २३ औं साधारणसभा
महिला उद्यमशिलता विकास सहकारी संस्था लि. बागलुङको २३ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन महिला उद्यमशीलता विकास सहकारीका प्रमुख संस्थापक संरक्षक प्रेम छोटाले गरे ।
कार्यक्रममा बोल्दै छोटाले महिला उद्यमशीलता विकास सहकारीले समाजमा रहेका महिलाहरुलाई उद्यमी बनाउने तालिम दिएर महिला उद्यमी बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष इन्द्रकुमारी श्रेष्ठ, संरक्षक चन्द्रकुमारी श्रेष्ठ, सल्लाहकार कृष्णशंकर श्रेष्ठ, निर्मला श्रेष्ठ, सम्मानित व्यक्तित्व चइनीदेवी श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका पुर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी, पत्रकार कोपिला कँडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभाका सहकारीका अध्यक्ष अर्चना पालिखेले प्रगति प्रतिवेदन, सचिव सृजना रेग्मी पन्तले सहकारीको प्रतिवेदन, कोषाध्यक्ष वविता वझाले आर्थिक र लेखा सुपरिबेक्षण समितिका संयोजक सुनिता शाक्यले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष अर्चना पालिखेको अध्यक्षता, सहकारीका सहसचिव संझना श्रेष्ठको स्वागत र सचिव सृजना पन्तको संचालनमा सम्पन्न भएको थियो ।
धन्वन्तरी स्वास्थ्य सहकारीको अध्यक्षमा तिमिल्सिना
धन्वन्तरी स्वास्थ्य सहकारी संस्था बागलुङको आठौं वार्षिक साधारणसभाले बिशुराम तिमिल्सीनाको अध्यक्षतामा नयाँ संचालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा शोभा शर्मा, सचिवमा हिराबहादुर केसी, कोषाध्यक्षमा बलबहादुर खड्का, सहसचिवमा गोबिन्दबहादुर घर्ति, सदस्यहरुमा बाबुराम पौडेल र शान्ति शर्मा रहेका छन् भने भिमसेनकुमार श्रेष्ठ, युक्रजंग राजभण्डारी, डा. तरुण पौडेल, बृहस्पती कँडेल र नरेश कँडेल रहेको सल्लाहकार समिति चयन भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै बागलुङ नगरपालिका–२ का अध्यक्ष सुरज बोसेलले केही सहकारीका कारण समग्र सहकारीमा नकारात्मक असर परेको भन्दै सहकारीलाई नियमसम्वत रुपमा अगाडी बढाउनुपर्ने बताए । कार्यक्रम धन्वन्तरी सहकारीका अध्यक्ष यमबहादुर पोखरेलको अध्यक्षता, उपाध्यक्ष शोभा शर्माको स्वागत र सचिव विशुराम तिमिल्सीनाको संचालनमा सम्पन्न भएको थियो ।