बागलुङ, २६ माघ– न्यू एभरेष्ट एकेडेमी बागलुङको बार्षिकोत्सव तथा अभिभावक दिवसको पूर्वसन्ध्यामा विद्यालयस्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ । १८ औं वार्षिकोत्सव एवं अभिभावक दिवसको पूर्वसन्ध्या विद्यालयले गर्ने विविध प्रतियोगितात्मक कार्यक्रमअन्तर्गत फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शुक्रबार उद्घाटन गर्दै खेलकुदका गतिबिधि विद्यार्थीको स्वास्थ्य र अनुशासनका लागि महत्वपूर्ण हुने बताए । विद्यालयहरु खेलमार्फत विद्यार्थीमा रहेका क्षमता खोजी गर्नुपर्नेमा उनको जोड थियो ।
प्रतियोगितामा १४ विद्यालयका १७ समुहको सहभागिता रहेको प्रिन्सिपल कृष्ण अधिकारीले जानकारी दिए । दिवसको अवसरमा साँस्कृतिक नृत्य र माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा आयोजक न्यू एभरेष्टका २ टिमसहित सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने करिब १७ प्रतियोगी विद्यार्थी समूहबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विजेता र उपविजेता समूहलाई क्रमशः १२ हजार ७ सय ७७ रुपैयाँ र ७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव तारानाथ आचार्य, सनराईज एकेडेमीका प्रिन्सिपल चन्द्रबहादुर क्षेत्रीले बोलेका थिए । कार्यक्रम विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारीको अध्यक्षता र शिक्षक भुमिराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।