बागलुङ, ३० फागुन– बागलुङमा जारी दोस्रो ‘अर्ना जेसीज कप’ फुटबलको क्वाटरफाइनल खेलमा गुठी युनाईटेड ट्राइबेकरमा अभागी हुँदा डिफेन्डिङ च्याम्पियन नेपाली सेनाको श्रीमेयर गण सेमीफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार बाङेचौर खेलमैदानमा सम्पन्न पहिलो क्वाटरफाइनलमा खेलमा बागलुङ निर्धारित समयमा बराबरी खेलेको गुठी युनाईटेड ट्राइबेकरमा बागलुङ सुधार केन्द्रसंग ४–३ गोलले स्तब्ध बनेको हो । गुठी युनाइटेडका अभिषेक केसी र विश्व गुरुङले पेनाल्टीमा गोल गर्न चुक्दा बागलुङ सुधार केन्द्रका नाइजेरियन खेलाडि मार्काे भेराइटीको पेनाल्टी प्रहार गुठीका गोलरक्षक रञ्जन खत्रीले बचाएका थिए ।
पेनाल्टी सुटआउटमा दुई गोल रोकेका बागलुङ सुधार केन्द्रका गोलरक्षक अशोक रेग्मी म्यान अफ दि म्याच घोषित भए । केन्द्रले अब बुधबार हुने रुद्रेपिपल युथ क्लब र बुद्वचित्तबीच हुने खेलको विजेतासंग सेमीफाइनल खेल्ने छ ।
मंगलबार नै भएको दोस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्यापियन श्रीमेयर गणले जिल्ला फुटबल संघ म्याग्दीमाथि रोमाञ्चक जित निकाल्दै सेमीफाइनलको यात्रा तय गरेको छ । खेलको ३ मिनेटमै गोल खाएपछि दबाबमा परेको गणले नतिजा उल्ट्याउँदै म्याग्दीमाथि २–१ गोलको जित निकालेको हो ।
म्याग्दीका अनुपम श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । गोल खाएसंगै दबाबमा परेको गणका लागि शंकर कार्कीले ३९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरी गरेका थिए । निकै प्रतिष्र्धात्मक खेलको अतिरिक्त समयमा गणका रामशरण चौधरीले हेडमार्फत सुन्दर गोल गर्दै जित सुनिश्चित गरेका थिए । उनी म्यान अफ द म्याचसमेत घोषित भए । गणले अब बुधबार हुने आदर्श स्पोर्टस् क्लब र डिएमसीबीच हुने खेलेको विजेतासंग सेमीफाइनलको खेल खेल्ने छ ।