बागलुङ, १ चैत्र– राष्ट्रिय भूमि आयोग बागलुङले आफ्नो २ बर्षे कार्यकालमा २ हजारबढी तथ्यांक संकलन गरेको दाबी गरेको छ । बुधबार पत्रकार सम्मेलन गरेर आयोगका पदाधिकारीले भुमिहिन दलीत, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक निकालेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा सदस्य सचिव तथा नापी कार्यालय बागलुङका प्रमुख मौषम सुनामले हालसम्म बागलुङ नगरपालिकाका ४१ जना भुमिहिन दलीत, ३९ जना भुमीहिन सुकुम्बासीको तथ्यांक निकालेको बताएका हुन् ।
त्यस्तै गलकोट नगरपालिकामा २० जना भुमीहिन दलीत, ९ जना भुमीहिन सुकुम्बासी र ६३ जना अव्यवस्थित बसोबासीको तथ्यांक बनाएको हो । जैमिनी नगरपालिकाको तथ्यांक छैन । त्यस बाहेक सबैभदा धेरै ढोरपाटन नगरपालिकामा भुमीहिन दलीत ४५, भुमीहिन सुकुम्बासी २९ र अव्यवस्थित बसोबासी १ हजार ९ सय ४७ जना भेटिएको बताइएको छ ।
बरेङमा भुमीहिन दलीत ६ जना, सुकुम्बासी १ जना र अव्यवस्थित बसोबासी ३५ जना भेटिएका हुन् । बगिाडमा पनि ११ जना मात्रै भुमीहिन दलीत र २ जना भुमीहिन सुकुम्बासी भेटिएको तथ्यांक छ । यहाँ ३३ जना अव्यवस्थित बसोबासी भेटिएका हुन् । सानो पालिका भएपछि तमानखोलामा ५ सय ४४ जना अव्यवस्थित बसोबासी भेटिएको बताइएको छ । निसीखोलामा ३९ जना भुमीहिन दलीत र ४ सय ५७ जना अव्यवस्थित बसोबासी तथा काठेखोलामा १५ जना भुमीहिन दलीत र ७७ जना अव्यवस्थित बसोबासी भेटिएको बताइएको छ ।
ताराखोलाका ४ भुमीहिन दलीत, १० भुमीहिन सुकुम्बासी र ३७ जना अव्यवस्थित बसोबासीका लागि भने जग्गाधनी पुर्जा दिने अबस्थामा पुगेको अध्यक्ष धर्मबहादुर कुँवरले बताए । उनले कार्यविधिले दिएको अधिकार अनुसार काम गरेपनि सम्बन्धीत पालिकाबाट सिफारिस नआएकोले कतिपय काम ढीला भएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले जनप्रतिनिधिको प्राथमिकतामा भूमिहीनको मुद्दा नपरेको बताए । साथै उनले जटिल बिधि र जग्गा नपाउने समस्याले काम ढीला भएको बताए । समितिका अध्यक्ष धर्मबहादुर कुँवरको अध्यक्षता, दुर्गाप्रसाद शर्माको संचालन र आयोगका बिज्ञ सदस्य भरत पुरीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।