बागलुङ/ग्रामिण क्षेत्रमा सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले जिल्लाको जैमिनी नगरपालिका वडा नं. १० डाँडाखानीस्थित राङखानी माध्यमिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा अध्यनरत विद्यार्थी तथा शिक्षकहरुका लागि ट्राफिक सचेतनामुलक कक्षा सम्पन्न गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले जानकारी दिए ।
ट्राफिक कक्षामा निउरेले दुर्घटनाका कारण र सामाधानका उपाय, सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरू, जेब्राक्रस र जेब्रा क्रस नभएको स्थानबाट बाटो काट्ने तरिका, सडकपेटी भएको र नभएको सडकमा पैदलयात्रीले अपनाउनुपर्ने साबधानी तथा तरिका, ट्राफिक संकेत चिन्नहरु, सडक रेखाहरु र सवारी साधन प्रयोग गर्दा यात्रुले अपनाउनु पर्ने सबाधानीका विषयमा सहजीकरण गरेका थिए ।
जिल्ला ट्राफिकले अस्थायी ट्राफिक प्रहरी पोष्टमार्फत चालक, यात्रु, पैदलयात्री तथा सर्वसाधरणलाई सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी सडक सुरक्षा सचेतना कार्यक्रम समेत संचालन गर्दै आएको छ ।