बागलुङ, ८ कात्तिक- गाउँघरको एउटा घर बनाउनु परे १० लाख खर्चिने हो भने भनेजस्तो हुन्छ । तर बागलुङको बलेवामा एकजनाले १६ करोडको घर बनाइरहेका छन् ।
यो घरमा सुन, चाँदी वा अन्य बहुमूल्य गहना जडान भएको त छैन ? तर होइन, यहाँ त ढुंगा मात्रै जडान भएको छ । घरको जग देखि धुरी सम्म ढुंगा मात्रै जडान गरेर बनाइएको घर १६ करोडमा पुरा हुर्ने लक्ष्य राखिएको छ ।
बागलुङ नगरपालिका वडा नंं १४ नारायणस्थानका भीमबहादुर घर्तीक्षेत्रीले ढुंगैढुंगाको घर बनाउन लागेका हुन् । पछिल्लो ७ बर्षदेखि यो काम निरन्तर छ । बिहान देखि बेलुकी सम्म ७८ बर्षिय भीमबहादुर र उनकी पत्नि सुमित्रा घर बनाउने काममै व्यस्त देखिन्छन् । घर बनाउने भनेपछि इटा, सिमेन्ट, काठ लगायतका सामाग्री हुनुपर्ने हो । तर यहाँ ढुगाको मात्रै थुप्रो छ । त्यसैले यो घर धेरैको चासोमा परेको छ ।
ढुंगाले मात्र बनाउादा एउटै घरको काम सकिन यतिका बर्ष लागेको हो । घर्तीले आफ्नी आमाको सम्झनामा यो घर बनाउँदैछन् । आमा हिरादेवी घर्तीक्षेत्रीको स्मृतिमा यो घरको नामाकरण पनि भैसकेको छ, ‘हिरा महल’ । हिरा महल भन्दैमा काममा ढीला भएको भने होइन । यहाा जग देखि धुरी सम्मका सबै सामान ढुंगामात्रै प्रयोग भएको छ । त्यसैले काम सकिन समय लागेको हो ।
८० बर्ष अघि भीमबहादुरका बाबु धनबहादुरले ७ पत्नि बिबाह गरेका थिए । ती मध्येकी जेठी थिइन्, हिरा । ६ वटी सौता खेपेर पनि उनले धनबहादुरलाइ जीवनभर साथ दिएकी थिइन् । ८१ बर्षको उमेरमा २०५८ मा हिराको निधन भएको थियो । बाबु धनबहादुर त ९६ बर्षको उमेरमा २०७१ सालमा बितेका थिए । ६ जना सौता भएरपनि सहनशिल बनेकी आमाको स्मृतिमा स्मारकको रुपमा रहने गरी हिरा महल बनाउन लागिएको भीमबहादुरले बताए । यहाँको एक कोठामा बाबुआमाको स्मृतिमा संग्राहलय बन्नेछ । बाँकी सबै कोठा उपयोगकालागि खुला हुनेछन् ।
धनबहादुरका ७ दाजुभाइ छन् । उनीहरुले बाबुआमाकै नाउँमा बलेवाकै जनता माबिलाई २२ बर्ष अघि १५ लाख रुपैयाँ सहयोग दिए । त्यसपछि तत्कालिन ऐन नियम अनुसार बिद्यालयको नाम नै जनताधन बन्यो । यहााका अन्य बिद्यालयमा पनि फर्निचर, कम्पयुटर ल्याब लगायतको सुधारमा जिसी परिवारले सहयोग गरेको छ ।
अब भने १६ करोड बढी लगानी गरेर हिरा महल बन्दैछ । यो महलमा झ्यालढोका पनि ढुंगाका छन् । दलीन देखि पलंग समेत ढुंगा खोपेरै बनाइएको छ । साना ठूला गरी २४ बेड ढुंगाका बनिसकेका छन् । दुइ तले भवनको भित्र बाहिर ती पलंग सजाएर राखिएको छ । ढुंगाकै दराज, सामान राख्ने ¥याक, भान्छाघर, शौचालय र हात धुने बेसीन समेत ढुंगा खोपेरै बनेका छन् ।
आठ रोपनी जमिनमा बनेको यो घर घर बाहिर पनि ढुंगा नै छापिएको छ । दुइवटा व्याडमिन्टन कोर्टपनि ढुंगाकै बनेका छन् । पर्खाल देखि छाना सम्म ढुंगाको बनेको हो । बागलुङ नगरपालिका वडा नंं १३ को पैयुपाटामा ढुंगा किनेर उनले घरमा छाप्न ल्याएका छन् । उनले काटेका ढुंगा १२ फिट लम्बाइ र १० फिट चौडाइ सम्मका छन् । पर्खालमा लगाएका ढुंगा पनि काटेर चिटिक्क बनाइएको छ । ‘भूकम्पले पनि नभत्कने, हजारबर्ष सम्म केही नहुने गरी घर बनाएको छु’ जिसीले भने, ‘हामी सबै मरेर गएपनि घर पुस्तौंपुस्ता सम्म जिवित रहनेछ ।’
शुरुवातमा यो घरको लागत स्टिमेट ९ करोड थियो । तर काम गर्दा गर्दै बढेर अहिले १६ करोड खर्च हुने अनुमान पुगिसक्यो । अहिले सम्म १२ करोड बढी भुक्तानी भैसकेको भीमबहादुरले बताए । भीमबहादुरकी पत्नि सुमित्राले पहिला त यति महंगो घर नबनाउन सल्लाह दिइन् । तर घर बनाएर आँफूमात्र बस्ने योजना नभइ आमा हिराको नाउँमा स्मारक जस्तै बनाउने भनेपछि उनले पनि सहमति दिइन् । भीमबहादुर र सुमित्राका २ भाइ छोरा र ३ छोरी छन् । यो अभियानमा २ छोरा, ३ छोरी, पतिपन्ति र दुइ नाती र एक नातीनी समेत गरी १० जनाले लगानी गर्ने गरी काम भैरहेको हो ।
अहिले यहाँ लगानी गर्ने मध्ये भीमबादुरका दम्पत्ति मात्रै छन् । अरु सदस्य फर्केर आउने, बस्ने संभावना पनि कम छ । तर निर्माणमा भने लगानी गरेका छन् । भीमबहादुर भारतीय सेनामा काम गर्थे । ७ बर्षपछि उनी भारतीय तेल निगम (आइओसी)मा लागे । २८ बर्ष आइओसी समेत गरी ३५ बर्ष भारतमा रोजगारीबाट निवृत्त भएका भीमबहादुर आर्थिक रुपमा आ“फैमा सक्षम भएका थिए । जेठो छोरा भोजबहादुर क्यानडामा कम्प्युटर इन्जिनियर र कान्छो छोरा धर्मबहादुर सिंगापुरमा पानीजहाजका क्याप्टेन छन् । छोरीहरुले पनि पढेलेखेर उन्नती गर्न थालिसकेको उनले बताए ।
यो घरलाई नियमित सजाउन पाहुना बस्ने घरको रुपमा उपयोग गर्ने योजना छ । ‘पहिला त्यस्तो सोचेर काम थालेको होइन, हेर्न आउनेहरुले पर्यटक घरको रुपमा बिकास गर्न सुझाव दिएका छन्’ भीमबहादुरले भने, ‘नियमित पर्यटक आएर बस्ने गरेमा घर सफाइपनि हुने, बसाईमा नया“ अनुभव पनि बटुल्न सकिन्छ ।’ ढाड दुख्ने समस्या भएकालाइ ढुंगाकै पलंगमा सुत्दा राम्रो हुने उनले बताए ‘सिमेन्ट त १ सय बर्षमा बिग्रन्छ, ढुंगा कहिले केही हु“दैन’ स्थानीय कमलकुमार जिसीले भने, ‘आफ्नो परिवार नबसेपनि पाहुनालाइ हुने गरी बनाउनु भएको छ, अब हामीले पनि संरक्षण गर्नुपर्छ ।’ यो घर निर्माण नसकिंदै पर्यटकको रुपमा हेर्न आउनेहरु बढेका छन् ।
विश्वकै दोश्रो अग्लो बञ्जीजम्प देखि २ किमी दुरीमा यो घर बन्दै छ । यहाँ आएका पर्यटकलाई यहा“ होमस्टेको रुपमा लगेर राख्न सकिने गरी भवन बनेको छ । ‘सिधै व्यवसायिक भवन होइन, तर पाहुना बस्न चाहेमा न्युनतम शुल्कमा राख्ने व्यवस्था गर्छौ’ जिसीले भने, ‘तस्बिर खिच्ने र ढुंगाकै सामाग्री हेर्नपनि धेरै आउन थालिसकेका छन् ।’ यो भवन बनाउने काममा पनि ७ बर्षदेखि स्थानीय कालीगढले रोजगारी पाएका छन् । ढुंगा काट्ने काम गरेकी देवी नेपालीले छोरालाई डाक्टर पढाएको बताइन् ।