९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पर्यटकीय सिजनसँगै थ्रोङ्ला पास नाका जाने पदमार्गको फोहोर उठ्यो


जनमञ्च संवाददाता
  • ९ कार्तिक २०८१ , शुक्रबार

  • पर्यटकीय सिजनसँगै थ्रोङ्ला पास नाका जाने पदमार्गको फोहोर उठ्यो

    पर्वत, १० कात्तिक-पर्यटकीय मौसम सुरु भएसँगै विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गको थ्रोङ्ला पास नाकासम्म पुग्ने पदमार्गको फोहोर व्यवस्थापन गरिएको छ ।
    समुद्री सतहबाट पाँच हजार चार सयभन्दा बढीको उचाइमा रहेको थोरङला पासमा विश्वभरबाट बर्सेनि हजारौँ पर्यटकहरु नेपाल आउने गरेका छन् । मनाङ हुँदै मुस्ताङ जिल्लामा निस्किने अन्नपूर्ण सर्किटमा पर्ने उक्त चक्रिय पदमार्गमा पर्यटकहरूको चाप बढ्न थालेपछि त्यहाँको फोहोर व्यवस्थापन गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा करिब ४५ जना व्यक्तिहरूको उपस्थितिमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ फेदी हुँदै थ्रोङ्ला पास नाका जाने मार्गमा पर्ने पर्यटक विश्राम स्थलहरू सहित पदमार्गमा सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रमले पदमार्गमा पुग्ने अन्य व्यक्तिहरूलाई पनि सरसफाइ ध्यान दिनका लागि सन्देश पुग्नुका साथै त्यहाँ आउने हजारौँ पर्यटकहरूमार्फत सफा पदमार्गको सन्देश विश्वमाझ पु¥याउनको लागि पनि कार्यक्रम उपयुक्त भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य बहादुर बोगटीले बताए ।

    सरसफाइको क्रममा सबैभन्दा बढी पानीको बोतलहरू सहित क्यान, बिस्कुट, लगायतका ड्राई फुड्स प्याक गरेका प्लास्टिकहरू धेरै मात्रामा भेटिएका छन् । करिब ३० बोरा फोहोर सङ्लन भएकोमा जलाउन मिल्ने फोहोरहरूलाई त्यहीँ नै जलाएर नष्ट गरिएको तथा जलाउन नमिल्ने सिसा र बोतललाई त्यहीँ खाडल खनेर गाडिएको डि.एस.पी बोगटीले जानकारी दिए ।
    ‘सरसफाइको क्रममा ३० बोरा फोहोर सङ्कलन गरिएको थियो। सबैभन्दा बढी फोहोरका रूपमा पानीका बोतलहरू भेटिएका छन् । बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष सहित वडाध्यक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रतिनिधि प्रहरी लगायत गरी ४५ जनाको टोलीले सफा गरेको हो’ उनले भने, ‘पर्यटकीय मौसम सुरु हुने बेलामा यो सरसफाइ कार्यक्रमले विदेशी पाहुनाहरूमार्फत विश्वभर सकारात्मक सन्देश लैजान सहयोग मिल्छ ।’

    सरसफाइ कार्यक्रममा सहभागी बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले वडाबाट पैदल यात्रा गरेर करिब ५÷६ घण्टा लाग्ने ठाउँसम्म पुगेर फोहोर उठाइएको बताए । अब चिसो मौसम सुरु भइसकेकोले अबका दिनमा सरसफाइमा जान कठिन हुने तर पर्यटकहरूको चाप बढ्दै जाने भएकाले यही बेलामा पदमार्गको सरसफाइ उपयुक्त हुने उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसाल, गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङ सहित उपस्थित भएर गरिएको सरसफाईले यसलाई अभियानका रूपमा जोड्न पनि सहज भएको वडाध्यक्ष गुरुङले बताए ।

    ‘यो बेला त पर्यटकहरूको लागि सिजन नै सुरु भएको छ । हामी जाने बेलामा पनि धेरै पर्यटकहरूको चहलपहल भइरहेको देखिन्थ्यो । बाटैभरि पर्यटकहरु हिँडिरहेका देखिन्थे’, उनले भने, ‘थ्रोङ फेदीबाट थ्रोङला पास नाकासम्मको पदमार्गमा पर्ने विश्राम स्थलहरू सहित बाटोमा रहेको कुरूप फोहोर हटाइएको छ । त्यस्तो फोहोर पदमार्गमा देखिएको भए विश्वभरका पर्यटकहरूमार्फत नराम्रो सन्देश फैलिने थियो ।’
    अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । गण्डकी प्रदेशको लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेकाले थोराङ्लालाई साहसिक गन्तव्यका रूपमा लिने गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend