बागलुङ, १० कात्तिक- आठ वर्षकी बालिका सृष्टि अहिले मानवसेवा आश्रममा हुर्केकी छिन् । आश्रम संचालक बिपना तामाङ, यमुना कंडेलसहितका अभिभावकले उनको स्याहार गरेर नियमित बिद्यालय पठाउने काम गर्छन् ।
आश्रम संचालक बिपना र पूर्वसंचालक सुमिरालाई नै सृष्टिले आफ्नो अभिभावक सम्झेकी छन् । सुरुमा हुर्काउने काम गरेकोले लामालाई त सृष्टीले आमा भनेर सम्बोधन गर्छिन् । सडकमा गर्भवती र अर्धचेत अवस्थामा भेटिएकी बंगलादेशी नागरिकलाई आश्रमले उद्दार गरेपछि सृष्टि जन्मेकी हुन् । नेपाली बोल्न नसक्ने ती महिलालाई आश्रममा मीना नाम दिइएको छ ।
छिटफुट हिन्दी र बंगाली भाषा बुझ्ने उनी यहाँ कसरी आइपुगिन् भन्ने पत्तो छैन । त्यतिमात्र हैन, अहिले सामान्य अबस्थामा पुग्दा पनि उनले आफ्नो घरपरिवारको बारेमा बताउन सक्दिनन् । सडकमा अर्धचेत अबस्थामा भेटिएपछि मानवसेवा आश्रमको मेची–महाकाली यात्राबाट उद्दार गरेर उनलाई आश्रममा राखिएको हो ।
जोखिम अबस्थाकी गर्भवतीबाट सृष्टिले सकुशल जन्म पाएकी थिइन् । उनी मात्र हैन, यहाँ रहेको मानवसेवा आश्रममा ७ जना बालबालिका आश्रित छन् । ५९ आश्रित मध्ये अरु बयस्क हुन् । तर संयोगले सबै बालबालिका सांग छन् । शारीरिक र मानसिक रुपमा स्वस्थ्य रहेकोले आश्रमले विभिन्न श्रोत खोजेर पढाएको छ ।
१५ वर्षकी बिनुको नेतृत्वमा सबै बालबालिका बिहान पढ्छन् । पोशाक लगाएर विद्यालय जान्छन् । फर्केर मिलेर खाजा खाने पनि उनीहरुको दैनिकी जस्तै छ । उनीहरु मध्ये अधिकांशका अभिभावकबारे पत्तो छैन । त्यसैले नामको पछाडि थर नजोडी मानव राखिएको छ ।
७ वर्षअघि निसीखोला गाउँपालिका २ को देवीस्थानबाट आश्रममा आइपुगेकी १५ वर्षीया बिनु रसाइली अहिले कक्षा ९ मा पढ्छिन् । उनकी बहिनी कोपिला ११ वर्षकी भइन् । भारतमा काम गर्दा गर्दै बिरामी परेर दृष्टिविहीन भएका नरबहादुर बिकलाई पत्नीले छाडेपछि बिनु र कोपिलाले मागेर खाएका थिए । ७ वर्षकी बिनु र ४ वर्षकी कोपिलासहित नरबहादुर ७ वर्षअघि आश्रम आइपुगेका थिए । अहिले उनै बिनु आश्रम संचालक बिपनाकी सहयोगी बनिसकेकी छिन् । भन्छिन्–‘ठूलो भए पनि आश्रम संचालक बनेर मानव सेवा गर्छु ।’ यहाँका सबै बालबालिकालाई मानव सेवाबारे शिक्षा दिइएको छ ।
काठेखोला गाउँपालिका ३ की १६ वर्षीया शोभा बिक पनि गतवर्ष आश्रम आइपुगेकी छन् । घरपरिवारको हिंसाबाट उनी आश्रम आइपुगेकी हुन् । पारिवारिक समस्याले फालिएका, घरबार र परिवारविहीन भएकाहरु यहाँ आइपुगेका छन् । उनीहरु सबै आश्रमबाट बिद्यालय पढ्न जान्छन् । ४ वर्षकी टेरिसा, ७ वर्षकी पूर्णिमा, ७ वर्षका सफल, र ३ वर्षकी दृष्टि पनि आश्रममा हुर्केका छन् । उनीहरुलाई संचालक बिपनाले नै अभिभावकको माया दिएकी छन् ।
दैनिक विद्यालय पठाउने काममा बिपना आफै खटिन्छिन् । आश्रमको काम विशेषले बाहिर निस्कुन पर्दा तामाङले बालिका उमेरकै भए पनि बिनु र शोभालाई जिम्मेवार बनाएकी छिन् । उनीहरुले सबै बालबालिका सम्हालेर विद्यालय पठाउने र आफू पनि पढ्ने काम गर्छन् । उनीहरु मध्ये अधिकांसका अभिभावक छैनन् । बिनुका बाबु दृष्टिविहीन भएकोले आश्रममै बस्छन् । उनीहरुलाई पढाउने काम छुट्टै चुनौतीको छ । यो चुनौती व्यहोरेकी तामाङलाई आश्रमको अभिभावकको रुपमा शिव खड्का, लक्ष्मी बास्कोटा र सरिता गौतमलगायतले साथ दिएका छन् ।
आश्रितमध्ये ४० जना मानसिक समस्या, उच्च रक्तचाप र शारीरिक अपांगसमेत छन् । हरेकलाई दैनिक प्रेसरको औषधि खुवाउनुपर्ने बाध्यता रहेको तामाङले बताइन् । सातैजना बालबालिकालाई भने कुनै औषधि दिनुपर्दैन । आश्रितलाई दैनिक खाना र औषधिसमेत गर्दा ठूलो खर्च निस्कन्छ । सामान्य स्याहार गरेर राख्दा पनि प्रतिव्यक्ति न्यूनतम् मासिक १५ हजार खर्च हुने गरेको छ । आश्रमले २०८२ साल भित्र नेपाललाई नै सडक मानव रहित बनाउने अभियान चलाएको छ । अहिलेसम्म केन्द्रीय कार्यालय हेटौंडासहित १९ जिल्लामा रहेका २४ शाखामा १ हजार ७ सय जना आश्रित छन् । तीमध्ये २ सयबढी बालबालिका रहेको संचालक सदस्य सुमिरा लामाले बताइन् । त्यसका लागि आश्रमलाई साधन श्रोत सम्पन्न बनाउनुपर्ने चुनौती छ । तर, दानको भरमा चलेका आश्रमलाई व्यवस्थापन गर्न धेरै अप्ठ्यारो भएको भवन निर्माण समितिका अध्यक्ष शिव खड्का बताउँछन् ।
झण्डै १ सय ५० जनालाई राख्न सकिने गरी निर्माणाधिन बागलुङको भवन पूरा गर्न ३ करोड बढी खर्च लाग्छ । हालसम्म १ करोड १० लाख सहयोग जुटेको छ । ‘कम्तिमा ७० प्रतिशत राज्यको साथ पाएमा ३० प्रतिशत नियमित चन्दाबाट पनि संचालन गर्न सकिन्छ,’ आश्रमका संचालक लक्ष्मी बास्कोटाले भनिन् । आश्रम भित्रै एकजना स्वास्थ्यकर्मीसहित औषधिको व्यवस्थापन, ४ जना सहयोगीसमेतको व्यवस्थापन गरिएको छ ।