बागलुङ, २२ कात्तिक-प्रथम मगर महोत्सव आयोजना गर्न प्रचारप्रसार तथा आर्थिक सकलनका लागि आयोजित देउसी भैलो समापन गरिएको छ ।
नेपाल मगर संघले आयोजना भएको देउसी भैलो कार्यक्रम बुधवार समापन गरिएको हो । देउसी भैलोमा आयोजकले ८लाख ७२ हजार रुपैयाँ कमाइ गरेको सार्वजनिक गरिएको छ । उक्त आम्दानी मध्ये १ लाख ८० हजार खर्च गरेर ६ लाख ९२ हजार रुपैयाँ बचत भएको नेपाल मगर संघ बागलुङका अध्यक्ष श्यामबहादुर पुनमगरले बताए ।
आगामी पुस अन्तिम साता संघले प्रथम मगर महोत्सव गर्ने तयारी गरेको छ । लोप हुन लागेको कला र संस्कृतिको संरक्षण गर्ने, मगर परंपरा र संस्कृति, खाना, भेषभुषा लगायतको जर्गेना गर्ने लक्ष्यले महोत्सव आयोजना गर्न लागिएको हो । यो कामका लागि देउसी भैलोले प्रचारको काम गरेको हो । साथै आवस्यक बजेटको केही रकम पनि संकलन भएको हो ।
देउसीकालागि संघले ५१ हजार रुपैयाँमा कलाकारको पोशाख खरिद गरेको छ । त्यस्तै कलाकार खर्च र खाना तर्फ गरेर ४६ हजार खर्च भएको बताइएको छ । बुधवार नेपाल मगर संघ, बागलुङको सभाहलमा सार्वजनिक कार्यक्रम गरेर संघले देउसी समापन गर्नुको साथै आम्दानी खर्चपनि जानकारी गराएको हो । सार्वजनिक कार्यक्रममा विभिन्न जातीय संगठन, राजनीतिक दलका नेता तथा पत्रकार समेतको सहभागिता थियो । देउसी भैलोमा हजुरबा पुस्ता देखि नाती पुस्ता सम्मका कलाकारहरुले सोरठी, झ्याउरे, मारुनी लगायतका गीतसंगीत पनि गाउने र नाच्ने गरेका थिए ।