खर्वाङ (बागलुङ)-मंसिर १ गते निकालिएको शुभसाईत अनुसार सोमबार पौदेलीहरुले १७ औं शताब्दीदेखि मनाईदै आएको न्वागी पर्व मनाएका छन् । १ गतेको शुभसाईत अनुसार आज सोमबार बिहान ९ बजेर ३७ मिनेटमा पश्चिम फर्केर न्वागी खाईएको बडिगाड गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले जनाकारी दिए ।
गलकोट र पर्वत राज्यको सहयोगमा इस्मा राज्यले जुम्ला राज्यकोे विस्तार अभियानलाई रोकेको हुनाले पौंदी मौजा राजनैतिक महत्वको रहेकोे र यसै खुशीयालीमा न्वागी पर्व मनाउन थालिएको स्थानीय भानुभक्त पौडेलले सुनाए । ‘बागलुङको ग्वालीचौर, गुल्मीको अरेवा, अमराई लगायत पौंदीबासीको खेतमा धान पाकेपछि कार्तिकको पहिलो हप्ता मुसिकोटको छत्रकोटका पुजारी, स्थानीय र जनप्रतिनिधिको रोहबरमा मुठि लिने (धान काट्ने) र न्वागी खाने मिति हेराईने चलन छ’ स्थानीय राम बहादुर कुँवरले भने ।
यस वर्षको मुठिलिने (धान काट्ने) दिन भने गत कार्तिक ११ गते ९ बजेर ३३ मिनेटमा पुर्व फर्केर परेको उनले सुनाए । न्वागी खाने समय र कुन दिशातर्फ फर्केर न्वागी खाने भन्ने यकिन चाँहि मंसिर महिना लागेपछि मात्र तोक्ने चलन रहेको कुँवरले सुनाए ।
कार्तिक पहिलो हप्ता सबै संगबाट मुठि लिई धान काटेर स्याहार्ने र न्वागीलाई घर घरमा होमन गरेपछि थानपति, छत्रभुमि, सिद्धका नाममा देवतालाई चढाई मंसिरको पहिलो हप्ताभित्र न्वागी खाने यस क्षेत्रमा चलन छ । यो पटकको न्वागी मेला पनि सोमबारबाटै ८ गतेसम्म बडिगाड गाँउपालिका ५ खारमा शुरु भएको छ ।
स्थानीयका अनुसार यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाई खेत भएका र नभएका सबैले खाने प्रचलन रहेको छ । खेत भएकाहरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन् भने आफ्ना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ ।
परापूर्व कालमा स्थानीयले बाजागाजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहरुले गुनासो गर्ने गरेका छन् ।