९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मालढुंगा-बेनी सडक दैनिक ६ घण्टा बन्द


जनमञ्च संवाददाता
  • ४ मंसिर २०८१ , मंगलबार

  • मालढुंगा-बेनी सडक दैनिक ६ घण्टा बन्द

    पर्वत, ४ मंसिर- कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडकखण्ड आजबाट ८ दिनसम्म दैनिक ६ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आज मंसिर ४ गतेदेखि मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा बन्द गर्न लागिएको हो ।

    पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा सडकको क्षेत्राधिकारमा पर्ने ढुंगा फुटाएर पन्छाउन र मालढुंगाबाट लस्तीसम्म कालोपत्र गर्न ‘प्राइमकोट’ बिछ्याउनका लागि आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारीसाधन आवतजावत बन्द गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिए ।

    गत आइतबार जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको आयोजना, जनप्रतिनिधि, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिहरुको बैठकले सवारीसाधन आवतजावत रोकेर सडक निर्माण गर्ने निर्णय गरेको थियो ।

    उक्त खण्ड अवरुद्ध हुँदा मालढुंगा–बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको सूचना अधिकारी चापागाईंले बताए । अन्य सवारीका लागि सडक अवरुद्ध भए पनि अत्यावश्यक एम्बुलेन्स, दमकल र शववाहन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ ।

    कुश्मा–१ मालढुंगाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ । १३ किलोमिटर दूरीको बेनी–मालढुंगा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

    ३० महिनामा काम सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्माण व्यवसायीले विभिन्न कारण देखाउँदै ढिलाइ गरेको छ । यो सडक चालु आर्थिक वर्षभित्र पूर्णरुपमा सम्पन्न गर्नेगरी काम गर्न निर्माण व्यवसायीलाई आयोजना कार्यालयले निर्देशनसमेत दिएको छ ।

    उक्त सडक भएर म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुंगा–बेनी सडकअन्तर्गत बेनीतर्फ २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा पारेर कालोपत्र गर्न लागिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend