बागलुङ, १५ मंसिर- प्रेस चौतारी नेपाल बागलुङले ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रम संचालन गर्ने भएको छ । प्रेस चौतारीको सोमबार बसेको बैठकले २० औं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रमको शुभारम्भ गर्ने निर्णय गरेको हो ।
शाखा अध्यक्ष सिर्जना पन्तका अनुसार मंसिर १६ गते आइतबार जिल्ला शाखाको २० औं स्थापना दिवसको दिन कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिइन् । उनले ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रममा विद्यार्थीहरुलाई पत्रकारिता, उद्घोषण तथा भाषणकला, मनोपरामर्श र योगको तालिम दिइने बताइन् ।
विद्यार्थीहरुलाई पत्रकारिताको बारेमा जानकारी गराउनुका साथै आधारभूत पत्रकारिता र उद्घोषणा तालिम संचालन गर्न ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रम गर्न लागिएको सचिव अर्जुन कार्कीले बताए । ‘विद्यार्थीहरुलाई पत्रकारिताको भोक जगाउनको लागि स्थापना दिवसको दिनबाट कार्यक्रम संचालन शुभारम्भ गर्न लागिएको हो,’ सचिव कार्कीले भने, ‘प्रत्येक महिना एक विद्यालयमा कार्यक्रम गर्ने निर्णय गरेका छौं ।’
गतवर्ष प्रेस चौतारी नेपाल केन्द्रको स्थापना दिवसको अवसरमा आयोजित ‘प्रेस चौतारी कप फुटबल प्रतियोगिता’को विजेता विद्यालय भएकोले चिल्ड्रेन लाईफबाट कार्यक्रमको शुभारम्भ गर्ने निर्णय गरिएको उनको भनाई छ ।
यस्तै स्थापना दिवसको अवसरमा चौतारीले दुई कोषको घोषणा गर्ने भएको छ । गत वर्ष आयोजित प्रेस चौतारी कप फुटबल प्रतियोगिताबाट बचत भएको रकमबाट ‘प्रेस चौतारी संस्थागत कोष’ र ‘प्रेस चौतारी कप कोष’को घोषणा गर्न लागिएको हो ।