बागलुङ, १८ मंसिर- बागलुङ बहुउद्देश्यीय सहकारी लि.मा आर्थिक अनियमितता र एकल निर्णयमा ऐन बिपरित काम भएको प्रबन्धक दिनेश पन्तले खुलासा गरेका छन् ।
उनले सहकारीका अध्यक्ष अशोक गोबिन्द राजभण्डारीले ५ सय ५५ जना नागरिकको खाता समेत आफ्नो नाउँमा सारेको आरोप पनि लगाएका छन् ।
गतवर्ष मंसिर ८ गतेदेखि प्रबन्धक बनेका पन्तले लामो समय ऋण नतिरेका ऋणीको खोजी गर्दा अध्यक्ष नै जवानी बसेको समेत भेटाएका थिए । उनले बैठकमा उक्त जानकारी गराउँदा अभद्र व्यवहार समेत भएको गुनासो गरे ।
पन्तले कामको सिलसिलामा सहकारीभित्र भएको बेथिती सच्याउन सुझाव दिंदा अध्यक्ष राजभण्डारीले उल्टै धम्की र डरत्रास देखाएर पदबाट हटाएको आरोप लगाए । गत भदौ ३१ गते सम्मको म्याद रहेको र त्यसपछि बैठक नबसी अध्यक्षले बाहिरैबाट पत्र बनाएर सूचना पाटीमा टाँसेर प्रबन्धक हटाएको पनि बताए । ‘संस्थामा आर्थिक संकट आएकोले प्रबन्धक पद खारेज गरिएको भन्दै मलाई निस्कासन गरेको सूचना पाटीमा टाँस थियो’ पन्तले भने, ‘थाहा नपाएर कार्यालय जाँदा राजभण्डारीले अन्य व्यक्ति लगाएर लछारपछार गरेको सिसिटिभी भिडियो पनि छ ।’ अबैधानिक मानिस भित्र पसेर प्रबन्धकको कम्प्युटरमा डाटा हटाउने काम पनि भएको उनले बताए ।
उनले सहकारीमा बहुमत पदाधिकारीको फरक मत भएर पनि अध्यक्षको एकल एकाधिकार रहेको बताए । उनले नागरिकको रकम अपचलन भएको समेत बताए । ‘एक जना शिक्षक खाताको पैसा झिक्न चेक काटेर आउँदा खाता नै भेटिएन, अध्यक्षलाई सोध्दा उहाँले आफ्नो खातामा लगेको भेटियो’ पन्तले भने, ‘किर्ते गरेर खातामा पैसा लैजाने काम ऐनको बिपरित हो ।’ माग्न आएकालाई आफ्नै खाताबाट व्याज बाहेकको रकम दिएको र अन्यलाई बेवास्ता गरेको उनले बताए ।
सहकारीको प्रबन्धकबाट एकल निर्णयमा हटाएकोमा उनको असन्तुष्टी छ । प्रबन्धक नै नहुने सहकारी कस्तो होला ? उनले प्रश्न गर्दै भनेका छन् ,‘वित्तिय विश्लेषणपछि मात्र सहकारीको दरबन्दी कटौती हुने हो, सहकारीको पत्रको आधारमा नगरपालिकाले पनि मलाइ पदमा नबस्न दबाव दियो ।’ असोजमै यो विषय बाहिर आएको थियो ।
जिल्ला प्रशासन, श्रम अदालत र नगरपालिकामा पनि उजुरी गरेको तर अहिलेसम्म कुनै जवाफ र सहकारीको कागजात बरामद समेत नभएपछि पत्रकार सम्मेलनमार्फत अनियमितता सार्वजनिक गर्न बाध्य भएको पन्तले बताए । प्रबन्धकको नियुक्तीदेखि बर्खास्त गर्ने निर्णयमा समेत कसैको प्रमाणीकरण नभएको, उपस्थिति र निर्णय फरक फरक व्यक्तिको हस्ताक्षरमा लेखिएको लगायतले पनि किर्ते वा अनियमित काम भएको पुष्टी भएको पन्तको दाबी छ ।
यता, बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक गोबिन्द राजभण्डारीले आइतबार बिज्ञप्ती जारी गर्दै पन्तले प्रबन्धकको पदमा बसेर सहकारीको गोपनीयता भंग गरेको, कम्प्युटरको पासवर्ड दुरुपयोग गरेको लगायत आरोप लगाएका छन् । सहकारीमा कुनै अनियमितता नगरेको, बरु म्याद थप नभएपछि विभिन्न स्थानमा पुगेर दबाव सिर्जना गर्ने र पदाधिाकारीलाई आरोप लगाउने काम गरेको राजभण्डारीले बताएका छन् । राजभण्डारीले आँफू डेढ वर्षदेखि कलेजोको अपरेशन गरेर बिरामी परेको र आँखामा समेत समस्या आएकोले कुटपिट गर्ने जस्ता काम नगरेको पनि प्रष्टीकरण दिएका छन् ।