बागलुङ, ५ पुस-नेपाल पत्रकार महासंघ, बागलुङको आठौं जिल्ला अधिवेसनबाट निर्वाचित पदाधिकारीको बिहिवार पदस्थापन भएको छ ।
बिहिवार आयोजित एक कार्यक्रममा निर्वाचन समितिका संयोजक हिराबहादुर केसीले समितिको पदस्थापन गराएका हुन् । त्यस्तै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरे ।
आठौ अधिवेसनबाट राम थापा ‘अविरल’को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा सुवास आचार्य, महिला उपाध्यक्षमा सिर्जना पन्त, सचिवमा नारायण रिजाल, कोषाध्यक्षमा खेमराज गौतम, सहसचिवमा डम्बर बुढा र नवराज नेपाली चयन भएका हुन् । त्यस्तै खुला सदस्यहरुमा प्रकाश बराल, अर्जुन कार्की, प्रदिप पन्त र बालकृष्ण सुवेदी, महिला सदस्यमा मनिषा शर्मा, आदिवासी जनजाती सदस्यमा संगम घर्ती, दलीत सदस्यमा अनिष खाती र अल्पसंख्यकमा प्रकाश छन्त्याल निर्वाचित भएका थिए ।
प्रमाणपत्र बितरणपछि मन्त्री पाठकले पत्रकारिता समाजको ऐना बन्नुपर्ने धारणा राखे । उनले पत्रकारिता र पत्रकार समाजले आदर्श मान्ने खालको बन्नुपर्ने सुझाव समेत दिए । ‘आम नागरिक पत्रकारिताबाट केही सिक्न चाहन्छन्, त्यसैले उनीहरु इमान्दार, सत्य र तथ्यमा बोल्ने, लेख्ने खालको बन्नुपर्छ’ पाठकले भने, ‘पत्रकारितालाई राजनीतिकरण गर्न पनि हुँदैन ।’ बरु राजनीतिले पत्रकारिताबाट धेरै पाठ सिक्नुपर्ने अबस्था रहेको पनि उनले बताए ।
साथै मन्त्री पाठकले आँफू मन्त्री भएको एकसय ७ दिनमा विभिन्न काम गरेर नागरिकको स्वास्थ्य अबस्थाको सुधार गर्ने तयारी गरेको बताए । उनले नीतिगत, कानूनी र संरचनागत सुधारको अभियान थालेको भन्दै ग्रामीण क्षेत्रमा पनि अस्पताल बनाउने, आर्युवेदीक औषधालयहरुलाई २५ बेडको अस्पतालको रुपमा बिकास गर्ने तथा धौलागिरि अस्पतालाइ मेडिकल कलेजको रुपमा बिकास गर्न पहल गर्ने बताए । स्वास्थ्य क्षेत्रमा बढीरहेको ब्रम्हलुट अन्त्य गर्ने समेत उनले उद्घोष गरेका छन् । ‘स्वास्थ्य क्षेत्रमा ब्रम्हलुट रहेछ, अब नागरिकको स्वास्थ्य सस्तो र भरपर्दो बनाउनुपर्छ’ उनले भने, ‘मुख्यमन्त्रीदेखि जिल्लाका सांसदपनि यो अभियानमा सकारात्मक बनिदिंदा सुधारका कार्यक्रम ल्याउन पाएको छु ।’ उनले छिटै नतिजा देखिने बताए ।
कार्यक्रममा पूर्व मन्त्री दिपेन्द्रबहादुर थापाले पत्रकारिता नागरिकको विश्वसनीय बन्नुपर्ने बताए । उनले पत्रकारले सत्यतामा टेकेर लेख्दा समाज सकारात्मक हुने र नियत राख्दा अद्योगतिमा जाने टिप्पणी गरे । प्रदेश सभाकै सांसद जितबहादुर शेरचनले बहुदल र गणतन्त्र ल्याउन प्रेसले खेलेको भूमिका महत्वपूर्ण भएको बताए । अवका दिनमा पनि सुशासनका पक्षमा पत्रकार उभिएमा भ्रष्टाचार अन्त्यको बाटो खुल्ने उनको धारणा छ । अर्का सांसद दिलमाया पौवीले लुकेका कुरा बाहिर ल्याउने काम पत्रकारको भन्दै पत्रकार बिना समाज अधुरो हुने बताइन् । उनले प्रेस स्वतन्त्रता बिना राज्य अपुरो हुने तर अझै महिलाका सवालहरु उजागर हुन बाँकी रहेकोले पत्रकारले ती बिषय खोतल्नुपर्ने आवस्यकता औल्याइन् ।
शुरुवातमा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कंडेलको अध्यक्षता, सचिव बिजय रानाको संचालन र कंडेलकै स्वागतमा सम्पन्न कार्यक्रमको दोश्रो चरण राम थापा अविरलको अध्यक्षता र सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजन शाक्य, एमालेका उपाध्यक्ष गणेशबहादुर थापा, पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, निर्वाचन समितिका संयोजक हिराबहादुर केसी, महासंघका सल्लाहकार तारानाथ आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा निर्वाचित समितिले पूर्व अध्यक्ष सहितका पदाधिकारीलाई मायाको चिनो प्रदान गरेका थिए ।