बागलुङ, ७ पुस- गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि आफूले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन् ।
बागलुङ नगरपालिका वडा नम्बर ६ लहरेपिपलमा शनिबार आयोजित बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रममा बोल्दै मन्त्री पाठकले प्रदेशमा रहेका स्वास्थ्य समस्याहरु पहिचान गरेर कार्ययोजना बनाएको जानकारी दिए । .
नीतिगत, संरचनागत र कानुनी सुधारलाई आधार बनाएर स्वास्थ्य क्षेत्रका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित स्वास्थ्य मन्त्रालय लागिपरेको मन्त्री पाठकले बताए । ‘स्वास्थ्य क्षेत्रको लागि नीतिगत सुधार मेरो प्रमुख योजना हो’, पाठकले भने, ‘कार्यविधि बनाएर कार्यान्वयनको चरणमा अघि बढेका छौं ।’
हरेक क्षेत्रमा सुशासन प्रमुख चुनौती भएको बताउँदै पाठकले नीतिगत निर्णय गर्ने तर कार्यान्वयन नहुने परिपाटीको अब अन्त्य हुने दाबी गरे । उनले मन्त्रालय मातहतका सबै कार्यालयमा रहेको बेरुजु फर्छ्यौट गर्न कार्यालयका कर्मचारीसहित आफू स्वयं पनि लागिपरेको सुनाए ।
धौलागिरी अस्पताललाई १ सय शैय्याको अस्पताल बनाउने र मेडिकल कलेजको रूपमा सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढिसकेको समेत मन्त्री पाठकले बताए । उनले स्वास्थ्य क्षेत्रको सुधारसँगै विकास निर्माणका कार्यहरुमा समेत अन्य मन्त्रालयसँग सहकार्य गरेर आफू अघि बढेको बताए ।
बालमैत्री नगरका लागि आवस्यक ५१ सुचक पुरा भएकोले वडालाई बालमैत्री वडा घोषणा गरिएको वडा अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए । कार्यक्रममा बालमैत्री अभियानको अहिले सम्मको प्रगती बिवरण जानकारी गराइएको थियो । पुस मसान्तभित्र बागलुङ नगरलाई नै बालमैत्री बनाउने नगरपालिकाको लक्ष्य छ ।