बागलुङ, ८ फागुन- साहित्यकार प्रेम छोटाले स्थापना गरेको मोफसलको पहिलो पुरस्कार ‘रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार’ रोमन म्यागसेसे पुरस्कार विजेता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सिर्जनशिल व्यक्तित्व महाविर पुनलाई प्रदान गरिएको छ ।
दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट प्रविधिको प्रयोग गरेर गाउँलाई विश्वसंग जोड्ने काममा पुन प्रसिद्ध छन् । रत्न श्रेष्ठ पुरस्कार गुठीले ४८ औं स्मृति दिवशको अबसरमा बुधबार आयोजना गरेको कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो ।
पुस्तक बिक्री अभियानमा इटहरीमा रहनुभएका पुन पुरस्कार लिन आउन नसकेपछि राष्ट्रिय आविष्कार केन्द्रको पोखरा इन्चार्ज तथा इन्जिनियर इन्द्र ओलीले पुरस्कार ग्रहण गरे । गुठीले ५० हजार रुपियाँको पुरस्कार पुनलाई प्रदान गरेको हो ।
पुरस्कार लिन आउन नपाएपनि इटहरीबाट लिखित पत्र पठाएका पुनले पुरस्कार दिएकोमा गुठीलाई धन्यवाद ज्ञापन गरे । २०३३ सालमा छोटाले आफ्नी आमा रत्नको नाउँमा स्थापना गरेका हुन् । गुठीले वर्षेनि झण्डै एक लाख रुपियाँ बराबरको रकम पुरस्कार स्वरुप बितरण गर्दै आएको छ ।
गुठीले दिँदै आएको ‘रत्न श्रेष्ठ धवलागिरि प्रतिभा पुरस्कार’ सह–प्राध्यापक जगन्नाथ प्रसाद लम्साललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी २५ हजार रुपियाँ छ । सोही अवसरमा ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार’ ‘सगरमाथा एक पहाडको नाम होइन’ नामक निबन्ध संग्रहलाई प्रदान गरिएको छ । पाल्पाका सह–प्राध्यापक चोलेन्द्र शर्माद्वारा लिखित कृतिलाई कोषले २५ हजार रुपियाँ लेखनवृत्ति पुरस्कार दिएको हो ।
यसैगरी, गुठीमै स्थापित ‘गुरु गणेश, बिष्णु स्मृति पुरस्कार’बाट मुक्तिनाथ बेदविद्याश्रमका बटुक रामकृष्ण सुवेदीलाई प्रदान गरिएको छ । उक्त पुरस्कार भने १० हजार रुपैयाँ राशीको छ । सोही समयमा जगतचन्द्र सम्मानबाट पाल्पाकै साहित्यकार विजय सागर श्रेष्ठलाई सम्मानित गरियो ।