बगलुङ/२०७३ साल फागुनमा स्थापना भएको जैमिनी नगरपालिकाले अहिलेसम्म ४ वटा मात्रै घरको नक्सा पास गरेको छ । दर्जनौं घरटहरा बनेपनि जनचेतना अभावले घर बनाउनेले नक्सापास नगरेका हुन् । घरको नक्सा पास नगर्दा नगरपालिकालाई लाखौं रुपैयाँ राजश्व गुम्दै आएको छ ।
अत्यावस्यक परेर बैंकबाट ऋण लिनुपरेमा कतिपयले बनिसकेको घरको निर्माण सम्पन्न प्रमाणपत्र भने लिन आउने गरेको इन्जिनियर रामकृष्ण पौडेलले बताए । जैमिनी १ कुश्मीसेराकी मीना खत्रीले आर्थिक वर्ष २०७६÷०७७ मा नक्सापास गरेर घर बनाएकी थिइन् । त्यसपछिको दुइ वर्षपछि मात्र वडा नं. १ मै आर्थिक वर्ष २०७९÷०८० मा पुष्पराज पौडेलको घरको नक्सापास भएको नगरपालिकामा रेकर्ड छ ।
पालिकाको मुकाम रहेको कुश्मीसेरा बजारमै स्थानीय टिकाराम शर्माको मोटर ग्यारेज र तेजेन्द्रबहादुर नेपालीले नक्सा पास गरेर घर बनाइरहेका छन् । जैमिनी नगरपालिका घोषणाको ८ वर्षमा प्रकृया पु¥याएर बनेका संरचना चारवटा मात्रै हुन् । अधिकांसले आँफूखुसी घर बनाइरहेका छन् । उनीहरुले कसैले पनि नक्सापास नगरेका हुन् । जसका कारण नगरको राजश्व संकलनमा ठूलो संकट परेको छ ।
यसअघि बनेकामध्ये अहिलेसम्म ४० घर मात्रै सम्पन्नताको प्रमाणपत्र लिएको इन्जिनियर पौडेलले बताए । बेला बेला सचेतना अभियान चलाएर पनि प्रकृयामा नआएको पौडेलको गुनासो छ । नगरभित्र भुकम्प प्रतिरोधी घर बनाउने त भन कोही पनि नआएका हुन् । प्रकृया नपुगेका घरपरिवारलाई नगरपालिकाले सेवा सुविधा दिन अप्ठ्यारो पर्ने सन्देश दिंदा पनि उपभोक्ताबाट चासो नभएको पौडेलको भनाइ छ ।
जैमिनीमा भवन निर्माण संहिता पनि लागू भएको छैन । जसका कारण ग्रामीण बस्तीदेखि सहरउन्मुख क्षेत्रका पूर्वाधारहरु जोखिममै ठडिइरहेका छन् । नगरप्रमुख नरबहदुर पुनले पनि नागरिक नै सचेत बनाउन नसकेको बताए । घरनक्सा पास गर्ने भनेको कर तिर्ने हो भन्ने मात्र बुझाइबाट माथी उठाउन नसकिएको पुनको भनाइ छ । बैंकबाट ऋण लिनुपर्दा भने कतिपयले एकैपटक घर सम्पन्नताको प्रमाणपत्र लिन खोजेको पुनले बताए ।
भवन निर्माण संहिता पालना गर्नका लागि जग्गा, सडक र भवनको मापदण्ड पुरा गर्नुपर्ने प्रावधान छ । त्यसका लागि जैमिनी नगरको सहर उन्मुख क्षेत्रमा घडेरीको क्षेत्रफल नपुग्ने, ग्रामीण क्षेत्रमा चासो नै नहुने समस्या बढी भएको वडा नं. १ का अध्यक्ष बिष्णु आचार्यले बताए । सडकको मापदण्ड छाडेर संरचना बनाउने चलन बसाल्न पनि सास्ती भएको उनको अनुभव छ । जैमिनीको मुकाम कुश्मीसेरा बजारमा मुल सडक भएर मालढुंगादेखि कुश्मीसेरा, बरेङहुँदै गुल्मीको शान्तिपुर जाने सडक छ । यो सडकको दायाँबायाँ १८ मीटर घर बनाउन नपाइने व्यवस्था छ । तर बजार क्षेत्रमा ८ मीटरमै घरैघर छन् ।