१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

फाँटैभरी काँक्रोखेती


जनमञ्च संवाददाता
  • ८ चैत्र २०८१ , शुक्रबार

  • फाँटैभरी काँक्रोखेती

    बागलुङ, ८ चैत -पर्वतको बिहादी गाउँपालिका १ का शिवकुमार क्षेत्री १२ वर्षसम्म कोरियामा काम गरेर फर्केपछि काठमाण्डौंमा एक वर्ष बिताए । त्यहाँ काम गर्न नसकेपछि गाउँ फर्केर व्यवसायिक काँक्रो खेती थालेका छन् । अहिले उनी खेतबारीमै भेटिन्छन् । क्षेत्रीकै नेतृत्वमा गठन भएको सिर्जनशिल कृषक समूहका ३२ जना किसानले डेढ हेक्टर जमिनमा काँक्रो रोपेका छन् । यो काक्रोको खेती बीउ उत्पादनका लागि हो । फागुनको अन्तिम साता रोपिएको काँक्रो आगामी जेठमा पाकेर बीउ निकाल्न योग्य हुन्छ ।

    बिहादी गाउँपालिका ४ का ऋषिराम भुषाल पनि अहिले बाच्छा फाँटमा भेटिन्छन् । उनी कृषि प्राविधिक समेत हुन् । आइपिएम पाठशाला चालाउने उनले किसानलाई सिकाउँदै आफूले पनि १५ रोपनीमा काक्रो खेती गरेका छन् । नले भाडामा जग्गा लिएर कांक्रोको बीउ उत्पादन गर्दै आएका हुन् । गतवर्ष उनले बीउ मात्रै २ क्वीन्टल उत्पादन गरे । उनकै छिमेकी उदय रेग्मीले पनि १५ रोपनीमै काँक्रो उत्पादन गरेर बीउ बेचेका थिए ।

    फलेवास नगरपालिका ११ पाङराङका किसान सूर्यबहादुर कुँवरले त २५ वर्षदेखिनै काँक्रोको बीउ फलाइरहेका छन् । उनको नारायणस्थान बीउ उत्पादक समूहले गतवर्ष ६३ क्वीन्टल काँक्रो फलाएको बताए । उनीहरुले प्रतिकेजी १० हजारदेखि १५ हजार रुपैयाँसम्म बारीबाटै बीउको मूल्य पाउने गरेका छन् । रोप्ने बेलासम्म राख्नेले भने प्रतिकेजी २३ हजार रुपैयाँसम्म पर्ने गरेको हो ।

    फागुनभर फलेवास र बिहादीका फाँटमा किसानहरु काँक्रो रोप्न व्यस्त भेटिन्छन् । जलजला गाउँपालिका ७ धाइरिङका किसानले पनि मनग्ये काँक्रो फलाएर बीउ बेच्दै आएका छन् । यसरी फलाएको भक्तपुरे लोकल काँक्रोको बीउ उनीहरुले काठमाण्डौं, पोखरा र अन्य सहरी क्षेत्रसम्म पु¥याउछन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार, हरेक वर्ष किसानले ६ करोड रुपैयाँको काँक्रोको बीउ मात्रै उत्पादन गरेर बजार पठाएका छन् ।

    ‘हामीले किसानको प्राविधिक समस्या समाधानमा साथ दिएका छौं, अरु काम आफै गर्छन्’ केन्द्रका प्रमुख परशुराम अधिकारीले भने, ‘बजारीकरणमा पहिला देखिकै सम्पर्क भएकोले हामीले सहयोग गर्नुपरेको छैन ।’ उपयुक्त हावापानी, सिंचाइको सुविधा भएकोले बाच्छा, पाङराङ र धाइरिङ जस्ता गाउँका किसानले वर्षेनी काँक्रोखेती गरिरहेको उनले बताए ।

    बरु सिंचाइ बढाउन केन्द्रले नहर तथा पाइप खरिदमा अनुदान दिएको उनले बताए । त्यस बाहेक केन्द्रले विभिन्न स्थानमा हरेक वर्ष माटो परीक्षण गरेर किसानको उत्पादकत्व बढाउन पहल गरेको अधिकारीले जानकारी दिए । भुषाल सहितका प्राविधिक पठाएर बारीमै पाठशाला समेत चलाएपछि किसान उत्पादनमा रमाएका छन् ।

    पाङराङमा मात्रै ७० घरपरिवार काँक्रोको व्यवसायिक खेतीमा लागेका छन् । बाच्छा गाउँमा पनि ३४ जना किसान समूहमा आबद्द भएर खेती गरेका हुन् । यसरी खेती गर्दा हरेक घरमा वर्षेनी ५ देखि १५ लाख रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताए । बिशेषगरी फागुन महिनाभर किसानले काक्रो रोप्ने गर्छन् । त्यो काक्रो जेठको अन्तिम साता तयार भएर बीउ निकाल्ने गरिन्छ । त्यतिबेला व्यापारी गाउँमै खरिद गर्न आइपुग्छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend