बागलुङ, ३० जेठ- संघिय सरकारको बजेट आइसकेको छ । उक्त बजेटबाट जिल्ला तहमा कुन पालिकामा कति बजेट परेको भन्ने पनि यकिन भैसकेको छ । आगामी आर्थिक बर्ष बागलुङ नगरपालिका भित्रका खानेपानी आयोजनामा साँढे १० करोड बजेट बिनियोजन भएको छ ।
संघिय खानेपानी मन्त्रालयका अनुसार बागलुङ नगरपालिकाभित्र मात्रै उक्त रकम बिनियोजन भएको हो । बिनियोजित रकम अनुसार कालीगण्डकी भैरवस्थान लिफ्टिङ खानेपानी आयोजनाकालागि ३ करोड रुपैयाँ बिनियोजन भएको हो । बिशेषगरी खानेपानीका योजनामा बर्षेनी १० देखि २०लाख मात्रै बिनियोजन भएर काम अगाडि बढ्नै नसकेको अबस्थामा यो अंकले केही प्रगती हुने बानपा १२ का अध्यक्ष कोपिलामणी शर्माले बताए ।
त्यस बाहेक बानपा ७ को कालीमाटी बस्ती र स्वास्थ्य चौकीकालागि खानेपानी व्यवस्थापन गर्न पनि ३ करोड बजेट परेको हो । बानपा १ को लक्ष्मी नारायण मन्दिरकालागि खानेपानी आयोजना निर्माण गर्न २५ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । उक्त बजेटले कालीगण्डकी नदी नजिकैको मन्दिर तथा इस्कोनमा खानेपानी पुग्ने विश्वास लिइएको छ ।
बनपा १२ कै अमलाचौर वृहत लिफ्टीङ खानेपानी आयोजनाकालागि थप ३ करोड बजेट परेको छ । यो बजेट पछि वडाका बस्ती बस्तीमा खानेपानीको समस्या हट्ने विश्वास लिइएको छ । त्यस बाहेक बागलुङ बजार बर्षाते खानेपानी व्यवस्थापनकालागि ७० लाख बजेट छ । बजारको मुख्य क्षेत्रमा भने साना सहरी खानेपानी आयोजना संचालनमा छ । त्यसैले यहाँ थप बजेट बिनियोजन नभएको हो ।
यस अघि नै निर्माण भएर पानी बितरण भैसकेको बानपा १४ को नारायणस्थानमा पानी व्यवस्थापन, आयोजनाको प्रशोधन व्यवस्थापन सुधार लगायतको कामकालागि ७० लाख रुपैयाँ बिनियोजन भएको छ । हाल नारायणस्थानमा लिफ्ट पानीलाई घरघरमा धारा बनाएर बितरण गरिएको छ । बागलुङ नगर उपप्रमुख राजु खड्काले ती योजनाले आम नागरिकमा पानीको आपुर्तिवारे आशा पलाएको बताए ।
बागलुङमा खानेपानीको लागि लामो समयदेखि सास्ती छ । निर्माणाधिन काठेखोला लिफ्टीङ आयोजना कहिले पुरा हुन्छ भन्ने यकिन छैन । नगरबिकास कोषबाट लिएको ऋणको साँवाव्याज तिर्दैमा बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था थला परेको छ । हाल संस्थाले बर्षेनी ८० लाखभन्दा धेरै रकम साँवाव्याज तिर्दै आएको छ । ग्रामीण क्षेत्रमा भने हाल विनियोजित बजेटले ठूलो उपलब्धी हुने सरोकारवाला बताउँछन् । स्थानीय तहको बजेट निर्माणको क्रममापनि श्रोत सुनिश्चित भएका योजनाले राहत मिल्ने भएको हो ।