९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

आमा-बुबा बन्न सन्तान जन्माउनै पर्छ र ?


अच्युत शाली घिमिरे
  • १५ पौस २०७८ , बिहिबार

  • आमा-बुबा बन्न सन्तान जन्माउनै पर्छ र ?

    म कार्यरत स्वास्थ्य केन्द्रमा बिहे भएको लामो समयसम्म आमा हुन नसकेका धेरै महिलाहरु आउँछन्। घरमा अरु सबै देउरानी/जेठानीको बच्चा भइसक्दा पनि आफ्नो नहुँदा सासू-ससुराको व्यवहार सहन नसकी भक्कानिएर आउँछन्। अरुले पेट बोकेको देख्दा ग्लानी हुँदै सहनै नसकी पनि आउँछन्। चेकजाँच गर्दा समस्या आफूमा देखिएपछि श्रीमानलाई अर्को बिहे गर्न कर लगाउने घर परिवारप्रति पनि दिकदार भएर आउँछन्।

    समस्या सधैं महिलामा मात्र हुँदैन, पुरुषमा समेत समस्या देखिँदा दम्पती नै आएर गुनासो पनि गर्छन्। केही ग्याप राखेर बच्चा जन्माउने रहर हुँदा र ‘कन्सिभ’ गर्न खोजेको बेलामा बच्चा नबस्दा दुर्भाग्यपूर्ण जीवन लिएर बाँचिरहेका हुन्छन् दम्पतीहरु। गाउँ होस् वा सहर, ठुलै व्यापारी हुन् वा नेता हुन्, यो समस्या जहाँ पनि देखिन्छन्, भेटिन्छन्।

    नि:सन्तान केन्द्रमा धाउने दम्पतीहरु कोही महिलाकै पाठेघरमा समस्या लिएर आउँछन् त कोही पुरुषको शुक्रकिटमा। पुरुषमा नै खराबी भएकाहरु इन्ट्रा युटेरियन इन्सिमिनेसन (आइयुआई) गर्छन् तर ढुक्क भने हुन सक्दैनन्। जसमा महिलाको पाठेघरमा सिधैँ पुरुषको शुक्रकिट राखिन्छ। कोही दम्पती इन्भिट्रो फर्टिलाइजेशन (आइभिएफ) अर्थात् टेस्टट्युब बेबी प्रविधि पनि अपनाउन तयार हुन्छन्। तर हरेक प्रयास सफल हुन्छ भन्ने छैन।

    सामाजिक, मानसिक एवं दीर्घकालीन असर गर्ने बाँझोपनले दम्पतीलाई असर पर्छ नै अझ कूलको निरन्तरता हुन नसकेको भन्दै पारिवारिक तिरस्कार समेत भोग्छन्। दुवैको दोष उत्तिकै हुने प्रवल सम्भावनाका बीच पनि सन्तान नहुनुको सबै दोष महिलामाथि थोपरेर पुरुष उम्किने गर्छन्। किनकि अझ पनि कतिपय महिलाहरु बोल्न सक्दैनन् अनि अन्याय सहेर बस्छन् पनि।

    श्रीमतीलाई दोष थुपारेपछि अर्को बिहे गर्न पाइन्छ भन्ने मनसाय धेरै रहन्छ अपरिपक्व पुरुषमा। तर बिहेपछि पनि अर्को श्रीमतीबाट समेत बच्चा नहुँदा आफूमा नै कमजोरी रहेको भान सहित टेस्ट गर्छन् र दिक्दारी मनाउँछन्।

    वीर्यमा शुक्राणुको संख्या वा गतिमा कम हुनु, वीर्यमा संक्रमण हुनु, हर्मोनमा गडबडी हुनु, सहबास गर्न असमर्थ हुनु, वीर्य पर्याप्त उत्पादन नहुनुजस्ता तमाम समस्या पुरुषमा पनि रहन सक्छन्। अझ वैदेशिक रोजगारीबाट आएका पुरुषहरु त विभिन्न यौनजन्य रोग समेत लिएर आएका हुनसक्छन्। अनि उच्च तापक्रममा काम गरेर आउँदा शुक्रकीट मर्ने वा कम हुने समस्याबाट समेत गुज्रिएका हुनसक्छन्।

    त्यसैले नि:सन्तान हुनुको एक्लो भार नारीलाई मात्र बोकाउन मिल्दैन। हुनसक्छ बारम्बार असुरक्षित गर्भपतन गराउँदा, जथाभावी औषधि खाँदा पाठेघरमा समस्या रही महिलाहरु नि कारक तत्व भएका होलान्। तर सन्तानविहीन हुनुपरेको पिर त छँदै छ त्यसमाथि सबै दोष महिलालाई दिएमा डिप्रेशनमा जानसक्छन्।

    हर्मोनको गडबडी, अण्डबाहिनी नली बन्द हुनु, पाठेघरको झिल्ली पातलिनु तथा मासु पलाउनुजस्ता समस्याले पनि महिलालाई आमा हुनबाट रोक्न सक्छ। यस्तो अवस्थामा दम्पती दुवै मिलेर आत्मविश्वासका साथ सही समाधानको बाटो पहिल्याउन पर्छ।

    आमा हुन नपाएका नारीहरुको आकाशमा कति धेरै रंगीचंगी बच्चाहरु उड्दा हुन्? सपनाको द्वारमा कति धेरै बच्चाहरु आमाको हातको स्पर्श पाउन अनि ताते पाउन प्रतीक्षा गर्दा हुन्? कुन टाइम एण्ड स्पेसमा अटछन् होला यी आमाका दुःखहरु? म त भगवानसँग प्रार्थना गर्छु, ‘जननी हुनबाट रोकेर यति धेरै वियोग नदेऊ।’

    आमा भनेर कसैले बोलाइदिओस्,कोही त लिप्सिन आइदिओस्, हात समातेर सबैलाई देखाउँदै हिँड्न पाइयोस् भन्ने चाहना राख्नु पनि कही अन्यथा होला त? अवहेलनाको पात्र भएर दुवै हात फैलाएर पिल्पिलाएर सन्तान मागेकाहरुसँग भगवानको केको दुस्मनी?

    तर अब सन्तानविहीन आमाहरुले स्प्रिचुअल्ली सोचेर मात्र नि हुँदैन। यस्तै कर्म लेख्या रैछन् भनी आफैभित्र गिजोलिएर पनि हुँदैन। अनेकौं उपाय अपनाउँदा समेत अभावमा नै रहेका आमाहरुले अरुको भलो चिताउँदा आफ्नो समेत भलो हुने पाइला चाल्नुपर्छ। संसारमा यो नाता नहुँदो हो त लिभिङ अल टुगेदरको सिद्धान्तले हामी एकअर्कासँग कति जोडिएका हुने थियौं होला। तर यो नाताले नै पराई र आफन्त बनाइरहेछ।

    यस संसारमा कति टाढा अनकनेक्टेड निर्जीव चिजवस्तु र घटना त आफ्नै हुन्छन् लाग्छन् भने सहाराविहीन अनाथ बालबालिकाहरु आफ्ना छोराछोरी किन हुन सक्दैनन्? जुन धर्मले असहाय शिशु संरक्षणको दिव्यता देखाउँछ, त्यो धर्म नै सँच्चा हुन्छ, जहाँ हाडनाता रगतको सम्बन्ध नबोल्ला तर विचार, प्रेरणा, इच्छा, भावना र अनुभूतिहरु बोल्छन्।

    एउटा श्रद्धामा निर्भर रहन्छ जननी भाव जहाँ आफ्नो कोख रित्तो भएर पनि काख भरिन सक्छ। अफसोसमा बित्ने छैन जिन्दगी बरु हरेक दिनले सन्तान नहुनुको पीडालाई परास्त गरेर प्रेम बाँड्न सकेकोमा खुसी दिनेछ।

    मेरो ती सन्तानविहीन आमाहरुलाई सुझाव- ‘तैँले सन्तान जन्माउन सकिनस्’ भन्नेहरुलाई नौलो क्रियामार्फत अन्जान शिशुको भविष्य स्वीकारेर तपाईंले चमत्कार गर्न सक्नुपर्छ। तपाईंका एक-एक अंश त्यो शिशुमा नहोला, नौ महिनाको सामीप्यता नहोला। तर हरेक दिन तपाईं निसास्सिँदा ओठ चुमेर साहस र सास दुवै भर्नेछ शिशुले।

    फूल बगैंचामा फुल्दा अपरिचित लाग्छ, जब घरमा ल्याएर सजाउँछौं, सुगन्ध फैलाउँछ, आत्मियता बढाउँछ। सिकारु चित्रकारले नाक र आँखा जस्तो बनाउँछ उस्तै देखिन्छ आकृति। के आमाविहीन भएको शिशुको आमा भएर तपाईं आकृति दिन सक्नुहुन्न र? कोही तपाईंको छातीमा टाँसिएर विशाल संसार धारण गर्न खोजिरहेछ। यो खँदिलो मातृत्वको गर्विलो सत्तामा नौलो परिवारलाई विराजमान गराएर आफ्नो श्रीमानलाई पनि त्यहीअनुसार अघि बढ्म भन्न सक्नुहुन्न?

    नफरत गर्ने समाजका नजरहरु निभाइदिनुस् अनि आफ्नो हृदयको करुणायुक्त बत्ती बाल्नुस् र हेर्नुस् कति झलमल्ल र झकिझकाउ हुन्छ घर। पराईलाई आफ्नो बनाउन तपाईंले मातृत्व बुझे पुग्छ, चाणक्य नीति पढ्नुपर्दैन।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend