१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

…त्यस दिनदेखि म भूतबाट हैन मानिसबाट डराएँ !


सृष्टि खड्का
  • १ माघ २०७८ , शनिबार

  • …त्यस दिनदेखि म भूतबाट हैन मानिसबाट डराएँ !

    आज साह्रै ढिलो भयो। छ्या ८ बजिसकेछ। त्यसमाथि खै कताको तार बिग्रेको होला बाटोमा बत्ती पनि छैन। बत्ती पनि यसबेला नै जानुपर्ने ? कलेज पढेर यहाँ ट्युसन पढाउन झर्दा त औधी गाह्रो भैरहेको छ।

    अझ यो जाडो महिनामा कति चाँडो अँध्यारो भएको होला।

    ओहो मनोहरा पुल पनि आइसकेछ। के-के अलौकिक घटना सुनेको छु मैले यहाँ।  पछाडिबाट भूत आयो भने(जस्लाई हामी तर्साउने पनि भन्छौं) तेस्ले मलाई पछाडिबाट बोलायो भने ? मलाई तर्सायो भने? एकदम डराउँदै म पाइला बढाउदै  थिएँ।

    एक्लै अँध्यारोमा मनोवाद गरिरहेको थिएँ। त्यो रातको हिँडाइमा दिमाग शान्त थिएन। बच्चादेखि नै हामीलाई यति भूत, तर्साउनेको बारेमा बताइन्छ कि मलाई यही ज्ञानले बाटो हिँड्दा सब कथा आइरहेको थियो। तर कताकता खुसी पनि लागिरहेको थियो।

    म आफ्नो युवा शक्ति खेर जान नदिई कर्ममा विश्वास राख्ने मध्येमा पर्दथे। यस्तो जाडो, अँध्यारो, थकान र थोरै आम्दानीजस्ता यावत् कुराले मलाई बाहनाबाजी गर्ने अवसर त दिए तर म मानिनँ।  समय प्रतिकूल भए पनि म आफ्नो लागि गर्न चाहन्थें, थोरै भए पनि बुवाआमालाई राहत भएको जस्तो लाग्थ्यो।

    छेउमा हाइवे थियो र त्योसँग बारले  छुट्याइएको सानो गोरेटो।

    रातिको समय गाडी हुँइक्याउँछन्, फेरि टिपर आउने समय पनि हो। रातिको समय टिपरहरू चल्छ, गाडीहरू नि घर फर्किन हुँइकिरहेको हुन्छ भनेर मैले गाडीको बाटोभन्दा त्यही छेउको बाटो रोजें।

    कसैले हानिहाले भने हारगुहार गर्न पनि पाउँदिनँ यसबेला त।

    होस्! बरू गोरेटो नै ठीक छ। बरू मोबाइलको टर्च बाल्छु। हिँडिरहेको बाटो हो, बाटो मज्जाले थाहा छ भन्दै डर र म मिसिएर हिँडिरहेको थिएँ।

    बाटो अँध्यारो थियो। आज औंसीको रात हो कि के भन्छन्, साह्रै अँध्यारो छ। गाडी पनि ८ बजे नै पातलिएको छ।

    मान्छे नि हिँडेका छैनन्।  पक्कै आज मलाई तर्साउँछ होला भूतले।

    एक्लै भएको बेला डराएको बेला त हो तर्साउने भनेर सर्तक भइरहेको थिएँ। एक्कासि गाडी छेउबाट हुँइक्यायो अनि त्यो बत्तीले एउटा ३०-३५ वर्ष जत्तिको मान्छेको अनुहार देखायो।

    ऊ अलि होचो ठाउँमा बसेको थियो। मलाई त्यो बाटो थाहा थियो। यो बाटोमा पिसाब फेर्न बसेको होला सोचें। तर यो मानिस झाडीतिर नफर्केर किन यता फर्केर गरिराछ भनेर रिस उठ्यो। मैले मोबाइल बालेको थिइनँ।

    बाटो मलाई राम्ररी थाहा थियो। धन्न बत्ती बालेको थिइनँ नत्र अप्ठ्यारो हुने रहेछ सोचिरहेको थियो।

    तर अन्तरमनमा केही नराम्रो ऊर्जा महसुस भयो। किन होला भनेर सोच्न नपाउँदै कोही कुदेको आवाज आयो, म झसंग भएर पछाडि फर्किएँ।

    त्यो मान्छे अघि पिसाब फेरिरहेको मानिस थियो। अँध्यारोमा त्यो मानिस झट्ट हेर्दा थाहा भयो कि उसले माथि ज्याकेट लगाए पनि तल पेन्टको जिप खोलेर आफ्नो आन्तरिक अंग देखाइरहेको थियो। त्यसबेला दिमागले केही सोच्न भ्याइरहेको थिएन। हत्तपत्त मोबाइल बाल्न चाहिँ भ्याएँ।

    तर त्यो मानिसतिर देखाउन सकिनँ। किनकि मलाई यसै यो हर्कत गर्ने मानिस हेर्न मन थिएन। त्यसमाथि डर पनि लागिरहेको थियो। मलाई केही शब्द बोल्नै आएन। बस् ठूलो स्वरमा ‘सोमत छैन, के गरेको?’ भनें।

    म छड्के पर्दै अगाडि हिँडें। त्यो पुरूषले मलाई एक वाक्य भन्यो जुन म सार्वजनिक रूपमा भन्न सक्दिनँ, सम्झिनँ पनि चाहन्नँ।
    कुदेँ भने झन् मेरो डर पत्ता लगाउला भनेर ठूलो आवाजमा कराएँ र मन दह्रो बनाएर छिटो हिँडेँ।

    डर लागिरहेको थियो मेरो पछि पो हिँडिरहेको छ कि? केही उल्टो हर्कत गर्ला कि? मलाई केही गर्छ कि? वा कुनै हानी गर्छ कि? हातहतियार छ कि? साथीहरू छन् कि पछि?  मलाई त्यो बाटो काट्न १० वर्षजस्तो भयो।

    बल्ल चोक आइपुगें।

    मनमा अलिकति राहत भयो। तर म त्यो दिन बोल्न सकिनँ।

    दुई दिन मौन भएर बसेँ।

    सबैले सोधे , ‘के भयो?  के भयो?’

    म के भन्नूँ!

    त्यो घटना सुनाएर त्यो समयमा फेरि पीडा महसुस गर्न मन थिएन।

    यो मान्छेलाई सानो घटना लाग्छ होला, न एसिड अट्याक,  न बलात्कार, न केही गलत छुवाई,  बेकार तिललाई पहाड बनाएकोजस्तो लाग्छ भनेर भनिनँ। बुवाआमाले अब पढाउन नजा भन्नुहोला भनेर सुनाइनँ। मुख शान्त थियो। तर मन थिएन…।

    आफूले आत्मरक्षाका लागि तालिम दिँदा, ‘आ..चाहिँदैन  मलाई’ भनेर हिट गरेको दिन याद आयो।

    महिलालाई शिक्षा र स्वतन्त्रताको कुरा सरकारले गरे पनि यो जीवन जिउन आवश्यक प्रावधान जस्तै बाटोमा हिँड्ने बत्ती, फराकिलो बाटो, दरिलो कानुन जस्ता आधारभूत बनाएको भए, सायद म भाग्न सक्थें होला,  म सर्तक पहिले हुन्थें होला वा रिपोर्ट गर्न सक्थें होला।

    मलाई कोही मानिसले आफ्नो अंग सार्वजनिक रूपमा अरूलाई अप्ठ्यारोमा पार्न देखाउनेलाई के सजाय हुन्छ पनि छ थाहा छैन।

    यो कानुनबारे बुझ्न मेरो भागमा पनि जिम्मेवारी हो। तर सरोकारवाला र सरकारले कानुन र प्रावधानबारे नपढेका महिलालाई चेतना दिनु उसको पनि ठूलो कर्तव्य हो। के संविधान अनि कानुन, कानुनका विद्यार्थीलाई मात्र हो?  किताब छाप्न मात्र हो?

    मेरो २१ वर्षको जिन्दगीमा महिला सशक्तिकरणको कति भाषण दिएँ कति आफ्नो जीवनमा लागु पनि गरें होला तर त्यस दिन महिला भएकै कारण निकै कमजोर महसुस गरें।

    मेरो दिमागमा नराम्रो गरी खाटो बस्यो।  मैले आफैं ट्युसन पढाउन छोडें।

    किन? किनकि म महिला थिएँ, मेरो इज्जत मेरो यौनीमा थियो, कसैले छोएको र नछोएको शरीरमा थियो र नारी कमजोर हुन्छन्, उनीहरूको इज्जत सियोको टुप्पोमा हुन्छ भन्ने भनाइमा थियो।

    पढाइमा अब्बल, मानसिक रूप दरिली, संस्था समेत हाकेकी नारी नराम्रोसँग हारी,  एक रूप याद नभएको पुरूषसँग,मानसिकतासँग, अँध्यारोसँग।

    मैले त्यो दिनमा न भूत देखें, न तर्साउने। म त्यो पुलमा भूत, तर्साउने भन्दै डराइरहेको थिएँ।

    तर मैले त्यस दिन त्यो आकारविहीन भूत देखिनँ तर देखें एक तर्साउने, मान्छेको स्वरूपमा।

    मेरो सातो गएको छ जुन न धामी न झाँक्रीले निको गर्न सक्ला।

    भूत त मैले सधैं देखेकी रहेकी रहेछु बस् यादमात्र नगरेकी।

    भूत एक झुप्पो केटी छेड्ने पुरूषमा देखेँ, बसमा अप्ठ्यारोसँग बस्नेमा, भीडमा जता पायो त्यता छुनेमा देखेँ, सिटमा आफ्नो अंग मडारनेमा देखेँ,  सुतेको नाटक गरेर आफ्नो काँधमा टाउको राख्नेमा देखेँ,  जहाँत्यहीँ देखेँ।

    थाहा नपाउँदो पाराले अँगालोमा हाल्दा देखेँ, माया गर्छु भन्दै घरसम्म पछ्याउनेमा देखेँ,  मेसेन्जरमा नानाथरी शब्दले मेसेज गर्दा देखेँ,  विद्यालयमा स्कर्ट लगाउँदा भर्याङको तल बसेर नियाल्नेमा देखेँ, केटीको अंगको बनोट र आकारबारे गफ हुने केटाको ग्रुप च्याटमा भेटेँ।

    त्यस दिनदेखि म भूतबाट हैन मानिसबाट डराएँ ! मानिसबाट डराएँ !

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend