काठमाडौं, ११ फागुन – प्रमुख सत्तारुढ नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थितका लागि आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ। अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनका लागि टेबल भएको प्रस्तावमाथि छलफल सुरु हुने भन्दै कांग्रेसले सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको हो।
कांग्रेसका एक सांसदका अनुसार संसदीय दलको कार्यालयका तर्फबाट सांसदहरुलाई पठाइएको एसएमएसमा ‘भोलि दिउँसो १ बजे बस्ने संसद बैठकमा अनिवार्य उपस्थितका लागि ह्विप जारी गरिएको छ,’ भनिएको छ।
यही आइतवार अनुमोदनका लागि टेबल भएको एमसीसी सम्झौतामाथि बिहीबारदेखि संसदमा छलफल सुरू हुँदैछ।प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा फागुन १६ गतेभित्रै एमसीसी पारितको प्रयासमा छन्।
संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीसम्बन्धी अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरिने उल्लेख छ।
‘अर्थ मन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्टमाथि सामान्य छलफल गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ’, संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले भनेका छन्।
कांग्रेसले फागुन ३ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट एमसीसी पारित गर्ने निर्णय नै गरेको थियो।
त्यसअघि तत्कालीन नेकपा नेतृत्वको केपी ओली सरकारको पालामा प्रतिपक्षमा रहेको अवस्थामा पनि कांग्रेसले २०७६ पुस १५ गते केन्द्रीय कार्यसमिति बैठकबाट एमसीसी पारित गर्नुपर्ने निर्णय गरेको थियो।
उक्त प्रस्ताव ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गरेको थियो।
त्यसअघि २०७५ माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट तत्कालीन प्रधानमन्त्री ओलीले एमसीसी पारितका लागि संसदमा प्रस्ताव दर्ता गर्ने निर्णय गरेका थिए।