बागलुङ, १८ बैशाख– नेकपा एमालेको तर्फबाट बागलुङ नगरपालिकाको प्रमुखमा उमेद्वारी दिएका जनकराज पौडेलले घर दैलो अभियान सुरु गरेका छन् । नेकपा एमालेका नोतहरुसहित सूर्य चिन्ह अंकित झण्डा बोकेर पौडेल सहितको नेतृत्व घर दैलोमा निस्किएको हो ।
शनिबार सुन्तलाको बगैचा मानिने सिगानाबाट पौडेलले आफ्नो चुनावी अभियान थालेका हुन् । यसअघी बागलुङ नगरपालिकामा प्रमुख रहेकै बेला पौडेलले आगामि १५ बर्षमा ७ अर्बको सुन्तला निर्यात गर्ने लक्षसहित किसानलाई उत्साहित गर्न उत्पादनमा आधारीत अनुदान कार्यक्रम सुरु गरेका थिए ।
सिगानाका किसानलाई खेतबारीमा सुन्तला लगाउन प्रेरित गरेका पौडेलले तीन बर्षसम्म खेतबारीमा परम्परागत खेती गर्दा हुने उत्पादन बराबरको मुल्य नगरले दिने व्यवस्था मिलाएका थिए । आफ्नो पहिलो कार्यकालमा किसानलाई साथ दिँदा उपलव्धी हाँसिल भैरहेको गाउँबाटै चुनावी अभियानको घरदैलो सुरु गरिएको पौडेलले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेर निर्वाचनमा होमिएको एमाले र राप्रपाले सँगै अभियान थालेका हुन् ।
सिगानाको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले अघिल्लो कार्यकालमा प्राप्त उपलव्धीको रक्षा, पाँच बर्षमा सुरुवात भएका कामको पूर्णता र नयाँ योजनाको सुरुवातका लागि आफु पुनः जनताको घर दैलोमा आएको बताए । उनले किसानको समृद्धि बिना देश समृद्ध बन्न नसक्ने भन्दै युवा पलायन रोकेर कृषिमा आधुनिकताको खोजी गरिने बताए ।
नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य पाठकले एमालेले मात्रै जनताको भावना बुझेर देशको बिकास गर्नसक्ने भएकाले देश बिकासका लागि एमालेका उमेद्वारको बिकल्प नरहेको बताए । उनले एमालेमा कमजोरी भए भित्रै सुधार गर्न खवरदारी गर्ने परिपाठी रहेकै कारण संगठन राम्रो रहेको भन्दै निर्वाचनमा एकताबद्ध भएर जान कार्यकर्तालाई आग्रह समेत गरे ।
कार्यक्रममा उपप्रमुखका उमेद्वार सञ्जय खड्काले युवाहरुको नेतृत्व नगरका लागि आवश्यक रहेको भन्दै नगरको समग्र बिकासका लागि एमाले राप्रपाको तालमेल रहेको समुहलाई बिजयी गराउनुपर्नेमा जोड दिए ।