बागलुङ, २० बैशाख– नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त निर्वाचन परिचालन कमिटिले सोमबार बागलुङ नगरपालिका–१४ नारायणस्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुखका उमेद्वार जनकराज पौडेल र उपप्रमुखका उमेद्वार सञ्जय खड्कासहित नेताहरुको समुहले नारायणस्थानका सर्वसाधारणको घरदैलोमा पुगेर जनताका समस्या संकलन गरेको हो ।
जनताको घरदैलोमा पुगेका उमेद्वारहरुले सर्वसाधारणको दिन दैनिकी र विकासका योजना तथा हालसम्म भएका कामको प्रभावको विषयमा अन्तरक्रिया गरेका थिए । ‘हामी गाउँमा भोट माग्नका लागि मात्रै आएका होईनौं, जनताका दुःख–सुख के छन्, नजिकको सरकारले गर्नुपर्ने काम के हुन भनेर खोजी गर्नका लागि पनि जनताको घर दैलोमा आएका हौं’ नगर प्रमुखकका उमेद्वार जनकराज पौडेलले भने ‘निर्वाचन जित्ने र जनताका काम गर्ने प्रयोजनका लागि हामी सबैको घरदैलोमा पुग्दै छौं ।’
घरदैलो कार्यक्रममा पुगेका नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले नारायणस्थानको विकासका लागि धेरै काम भएका बताए । नारायणस्थानको कुकुरगाडेदेखि पर्वको सदरमुकाम कुश्माबजार जोड्ने झोलुंगे पुल निर्माणको प्रक्रिया अघि बढाईएको भन्दै उनले प्रलोभन देखाएर राजनीति गर्नेहरुले अबरोध गरिरहेको बताए ।
सर्वसाधारणले बिमानस्थल निर्माण, सडक ढलान तथा कालोपत्रे र सडक नाली जस्ता ठुला काम भएको भन्दै अब आउने नेतृत्वले काम र जनजिविकाका बिषयमा ध्यान दिन आग्रह गरे । ‘काम त धेरै भएका छन्, अब घर अघिको बाटो बनाउनेलाई मत दिने हो’ स्थानीय लाल बहादुर हरिजनले भने ‘हामीलाई दुःख सुखमा साथ दिनेलाई मत दिने हो ।’
नगर उपप्रमुखका उमेद्वार सञ्जय खड्काले पुरानो अनुभवी र युवा पुस्ता दुवैले नेतृत्व गर्ने गरी तालमेल गरेर आएको एमाले राप्रपाका उमेद्वारहरुले मात्रै बलेवाको विकास गर्न सक्ने बताए । उनले प्रतिस्पर्धिबीचमा रहेको फरक छुट्याएर मतदान गर्न आग्रह गरेका थिए ।