म्याग्दी, २० जेठ – स्थानीय तह निर्वाचनअन्तर्गत म्याग्दी जिल्लाका छवटै स्थानीय तहको कार्यपालिकाले पूर्णता पाएको छ ।
गत वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित जनप्रतिनिधिको मतदानबाट बेनी नगरपालिकामा आठ र पाँचवटा गाउँपालिकामा छ÷छ जना सदस्य चुनिएसँगै कार्यपालिकाले पूर्णता पाएका हुन् ।
बेनी, धौलागिरि र रघुगङ्गामा सत्तारुढ दलको गठबन्धन, अन्नपूर्ण र मंगाला गाउँपालिकामा नेकपा एमाले तथा मालिका गाउँपालिकामा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीका उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् ।
बेनी नगर कार्यपालिका सदस्यमा दलित वा अल्पसङ्ख्यकतर्फ नेपाली कांग्रेसका मनकुमारी विश्वकर्मा, माओवादी केन्द्रका किसान विश्वकर्मा, एकिकृत समाजवादीका कृष्णकुमार विश्वकर्मा, महिला सदस्यतर्फ काँग्रेसका निर्मला मल्ल, बबिता सापकोटा सृजना श्रेष्ठ, माओवादी केन्द्रका मिनाकुमारी कार्की र सुजाता किसान निर्वाचित भएका छन् ।
मंगला गाउँपालिकाको दलित वा अल्पसंख्यक कार्यपालिका सदस्यमा एमालेका शंकर शेरचन र टेकबहादुर किसानको एकल मनोनयन दर्ता भएपछि निर्विरोध भएका थिए । महिला सदस्यमा एमालेकी डिलकुमारी खत्री, तिलकुमारी खत्री, भूमिसरा बुढाथोकी र सरस्वती उपाध्याय निर्वाचित भएका छन् ।
धौलागिरि गाउँपालिकाको अल्पसङ्ख्यक वा दलित कार्यपालिका सदस्यमा कांग्रेसका भवीन्द्र छन्त्याल र एकीकृत समाजवादीका देउप्रसाद छन्त्याल पुन, महिलातर्फ कांग्रेसकी फुलमाया बुढाथोकी, नरकुमारी बुढाथोकी, नेकपा माओवादी केन्द्रका डिलकुमारी विक र सीताकुमारी छन्त्याल निर्वाचित भएका छन् ।
रघुगंगाको गाउँपालिकाको दलित वा अल्पसंख्यक कार्यपालिका सदस्यमा कांग्रेसकी सम्झना परियार र माओवादीका होमबहादुर दर्जी, महिलातर्फ कांग्रेसका कुमारी पुर्जा गर्बुजा, धनमाया गोतामे, प्रिति गर्बुजा र सोमिता पुन निर्वाचित भएका छन् ।
अन्नपूर्ण गाउँपालिकाको दलित वा अल्पसंख्यकबाट कार्यपालिका सदस्यमा एमालेका वीरबहादुर पौडेल र मिठु विक, महिला सदस्यमा देवकुमारी पुन, गेममाया पुन, विष्णुकुमारी गर्बुजा र आशा गुरुङ निर्विरोध भएका छन् ।
कार्यपालिका सदस्यसहित जिल्लामा स्थानीय तह निर्वाचनबाट २५० जनप्रतिनिधि चुनिएका छन् । कार्यपालिकाले पूर्णता पाएसँगै जिल्ला समन्वय समिति गठनको तयारी भएको छ । जिसस गठनका लागि जिल्लामा एमालेको एकल बहुमत छ ।