२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

‘असारे’को सुरसारमा तरामीमगर


जनमञ्च संवाददाता
  • २० असार २०७९ , सोमबार

  • ‘असारे’को सुरसारमा तरामीमगर

    तस्बिरहरु : महेन्द्र घर्ति तस्बिर
    बागलुङ, २० असार– बर्सेनि असार तेस्रो मङ्गलबारदेखि यहाँ ‘असारे’ मेला लाग्छ । ‘असारे’ तरामीमगरको पुस्तैनी मेला हो । कोरोना महाव्याधिले दुई वर्षसम्म रोकेको परम्परागत मेला यसपाली हुँदैछ ।
    ताराखोलाका रैथाने मगर ‘असारे’ मनाउने सुरसारमा छन् । असारेलाई खुसी साट्ने, मीठो–मसिनो खाने, प्रकृति र देउता पुज्ने पर्वका रुपमा लिइन्छ । नयाँपुस्ताले ‘असारे मेला’ का रुपमा संस्कृति धाने पनि जनबोलीमा भने ‘असारे’ प्रचलित छ । बर्खाको खेतीपाती भ्याएर विश्राम लिन असारे बस्ने गरिएको बूढापाका बताउँछन् ।
    आराम र मनोरञ्जनका लागि ‘असारे मेला’ सुरु भएको विश्वास गरिन्छ । संस्कृतिकर्मी झकबहादुर घर्तीले डोल्पाको ताराभोटबाट आएका पूर्वजले असारेको चलन बसालेको बताए । ‘असारको उजेली पक्ष पारेर मेला सुरु हुन्छ’, उनले भने, ‘पूजाआजा गर्ने, बलि चढाउने पनि परम्परा छ ।’


    अघिल्लो दिन गहुँ, चामलको रोटी खाने र भोलिपल्ट मंगलबार बूढापाकाले लठ्ठो बाट्ने, युवाले पिङ राख्ने चलन रहेको उनले सुनाए । असारेलाई साँचेर तरामीमगरको कूल घरमा राखिएको जमरालाई त्यही पिङमा चढाउने र वाचा बाँध्ने गरिन्छ ।
    गाउँलेले मेलालाई ‘असारे बस्ने’ भनेर पनि चिन्छन् । असारे बसेका बेला खेतीपातीको काम गर्न नहुने मान्यता छ । वर्षात्मा बाढीपहिरोजस्ता प्रकोप नहोस्, रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै प्रकृति पुजिन्छ । मुखियाको घर (हेम्थो घर)को बारीमा रहेको थानमा राँगाको बलि दिने गरिएको घर्तीले बताए । ‘पहिलेपहिले यहाँ आउँदा बालबालिका हराउने गरेको र पछि ढुंगामा बलि चढाएर पूजा गर्न थालेपछि हराउन छाडेको भन्ने धार्मिक विश्वास छ’, उनले भने ।
    वि. सं. १७६६÷६७ तिर डोल्पाबाट बसाइँ सरेर आएका तरामीमगरले थातथलो बसाएको ताराखोला गाउँपालिका–४ र ५ मा असारे विशेषरुपमा मनाइन्छ । बलि र पूजापाठ वडा नं ४ को तारागाउँमा हुने गरे पनि मेला भने ५ को करिमेलामा चल्छ ।
    असारेलाई ताराखोलावासीले आफ्नो मौलिक संस्कृति मान्छन् । बर्खे झरीकोसमेत पर्वाह नगरी हर्षोल्लासपूर्वक असारेमा रमाउँछन् । ३०० वर्षअघिदेखि असारेको थिति बसेको बूढापाका बताउँछन् ।
    असारे युवा क्लबका अध्यक्ष ओमबहादुर रोकाले क्लबले असारेको परम्परा धान्दै आएको उल्लेख गरे । ‘कोरोना महामारीले गर्दा दुई वर्षसम्म रीतिथितिअनुसार पूजापाठ र वाचा बाँध्ने मात्र काम भयो’, उनले भने, ‘यो वर्षदेखि असारे मेलाले पुनःनिरन्तरता पाउँदैछ ।’
    मेलामा पुरुष÷महिला भलिबल, सामूहिक नृत्य, रस्साकस्सी, धनुषवाण, भाले छुनेलगायतका प्रतियोगिता राखिएको छ । ताराखोलामा प्रचलित सांस्कृतिक झाँकी, गीत तथा नृत्य पनि प्रदर्शन गर्ने गरिएको छ ।

    मेलामा युवायुवती पिङ खेल्ने, मीठा परिकार खाने, असारे गीत तथा नाचमा रमाउने गर्छन् । खेतीपातीपछि आराम गर्ने, आफन्त र मित्रजनसँग भेटघाट हुने अवसरका रुपमासमेत मेलालाई लिइन्छ । पछिल्लो समय मेलाको स्वरुप केही फेरिँदै गएको छ ।
    धार्मिक आस्था, मान्यता र परम्परासँगै मेलालाई नयाँपन दिन थालिएको हो । मेला धार्मिक, सांस्कृतिक मान्यतासँग पनि जोडिएको छ । मेला भर्न हिल, अर्गल, हटिया, हरिचौर, तमान, खुङ्गा म्याग्दीको रुम, निस्कोट, किमचौरलगायतका ठाउँबाट सर्वसाधारण आउँछन् । –रासस

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend