म्याग्दी, २५ असार– जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ को दिच्याम र दुखुमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ ।
भौगोलिक विकटताका कारण पालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक उपचार केन्द्रमा पुगेर सेवा लिन समस्या भएपछि दिच्याम र दुखुवासीका लागि मालिका गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको हो ।
वडाध्यक्ष पथबहादुर रोकाले एकै दिन सञ्चालन भएका दुईटै एकाइमा स्वास्थ्य सहायक र कार्यालय सहयोगी नियुक्त गरिएको जानकारी दिए । ‘स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सेवा एकाइबाट उपलब्ध हुन्छ’, रोकाले भने, ‘एकाइ सञ्चालन भएपछि सामान्य बिरामी हुँदासमेत दुईदेखि तीन घण्टा पैदल हिँडेर दरवाङ पुग्नुपर्ने समस्या हटेको छ ।’
खोपसम्बन्धी सेवा पनि एकाइबाटै उपलब्ध हुनेछ । दिच्याममा १ सय ३७ र दुखुमा १ सय २ परिवारको बसोबास छ । गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन् । सामुदायिक भवनको कोठामा एकाइ सञ्चालन गरिएको छ ।
यसअघि दुखु र दिच्यामका बासिन्दा सामान्य बिरामी पर्दा पनि सिटामोलका लागि दरवाङ पुग्ने गरेका थिए । मालिका गाउँपालिकाको वडा नम्बर ३ डाँडागाउँ र पात्लेमा पनि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ ।