बागलुङ, २६ असार– पछिल्लो समय नेपालको पुर्वी र पश्चिमी क्षेत्रमा देखिएको नाइरोबी फ्लाई जातको किरा बडिगाडमा पनि देखिएको छ । पालिकाका केही वडामा किराका कारण संक्रमित भएका केही व्यक्ति भेटिएपछि बडिगामा पनि उक्त जातको किरा देखिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको हो ।
बडिगाडका स्वास्थ्य शाखा सहायक हेम पुनका अनुशार उक्त किरा गर्मी हुने स्थानमा भेटिने हुँदा बडिगाडका तल्लो वडामा मात्र केही दिनदेखि नाइरोबी फ्लाइका बिरामी भेटिएका हुन । तर पालिकामा जटिल बिरामी भने अहिलेसम्म नभेटिएको उनले बताए । उक्त किराको संक्रमण भए नजिकैको स्वास्थय संस्थामा सम्र्पक गर्न पनि उनले सुझाव दिए ।
किरा मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरा थिचिदा रस निस्कने र उक्त रसमा भएको पेडेरिन तत्व एसिडले छालामा संक्रमण गराउने उनले बताए । तर किरालाई शरीरबाट सजिलै फालिन सक्ने हो भने सङ्क्रमण नहुने पनि हेम पुनले जानकारी दिए ।
एसिड छालामा लागेपछि २४ घण्टाभित्रमा छाला रातो हुने, बिबिरा आउने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने बडिगाडका स्वास्थ्य शाखा सहायक पुन बताए । लक्ष्यण देखिएकामध्ये पनि धेरैलाई आफैँनिको हुने पनि उनले सुनाए ।
कसरी जोगिने ?
उक्त किराहरु प्रकाशमा आकर्षित हुन्छन् । तिनीहरू आवासिय क्षेत्र वरिपरि ठूलो संख्यामा जम्मा हुन्छन्, जहाँ रातभर घरको बत्ती र सडक बत्तीहरू किरणमा बस्न रुचाउने हुन्छन् । उक्त किरासँग सम्पर्कमा नआउनका लागि झ्यालमा जाली लगाउने, ओछ्यानमा झुलको प्रयोग गर्ने, लामो बाहुला भएका लुगाको प्रयोग र राती वरपर भएका बत्ती बन्द गर्नुपर्छ ।
‘बत्तीमा यस्ता किरा आउन बढी रुचाउने गर्छन् । बत्ती निभाएर सुत्ने गर्नुपर्छ । यदि शरीरमा किरा देखियो भने थिच्ने, मार्ने गर्नुहुँदैन’, स्वास्थय शाखा सहायक पुनले भने, ‘किरा बसेको ठाउँलाई साबुनपानीले धुनुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेषगरी आँखालाई नछोस् भनेर ध्यान दिनुपर्छ ।’
यसको लागि खास उपचार छैन । किराले टोकेपछि एलर्र्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनु पर्ने उनले बताए ।