म्याग्दी, २७ असार– जिल्लाका किशोरीहरुलाई आउँदो साउन महिनादेखि आइरन फोलिक एसिड चक्की खुवाइने भएको छ । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउने तयारी भएको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
विद्यालय जाने किशोरीहरुलाई विद्यालयमा, विद्यालयभन्दा बाहिर रहेका किशोरीहरुलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यचौकी मार्फत आइरन चक्की खुवाउने कार्यक्रम रहेको अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले जानकारी दिए ।
किशोरीहरुमा हुने रक्तअल्पताको रोकथाम गर्ने उद्देश्य सहित उनीहरुलाई आइरन चक्की खुवाउन लागिएको सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनले बताइन । एक आर्थिक वर्षको पहिलो चरण अन्तर्गत साउन–भदौ र असोज तथा माघ–फागुन र चैत गरी दुई चरणको ६ महिनाको अवधिमा २६ हप्तासम्म आइरन चक्की खुवाउने कार्यक्रम रहेको उनको भनाई छ ।