बागलुङ, ५ साउन– जिल्लामा फेरी कोरोना संक्रमित देखिन थालेका छन् । बुधबार गरिएको एन्टिजेन्ट परीक्षणमा ३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकलपर्सन देवप्रकाश घिमिरेले बताए ।
संक्रमण पुष्टी भएकामध्ये १ जना स्वास्थ्यकर्मी र २ जना बागलुङ नगरपालिका वडा नंं २ का एक महिला र एक पुरुष छन् । उनीहरु तीनै जनालाई रुघाखोकी र ज्वरो आएको बताइएको छ । सुरुमा उनीहरु मौषमी रुघाखोकी भन्नेमा बसेपनि देशभरी संक्रमणको ग्राफ बढेपछि कार्यालयले एन्टिजेन्ट परीक्षण गरेको हो ।
बागलुङमा गत फागुनपछि कोरोना संक्रमित भेटिएका थिएनन् । सामान्य रुघाखोकी लागेकाहरुको परीक्षण पनि भएको थिएन । बुधवार भने लक्षण देखिएका बिरामीमा परीक्षण गर्दा संक्रमण पुष्टी भएको हो । उनीहरु तीनैजना आफ्नै घरमा आराम गरिरहेका छन् ।
संक्रमण पुष्टी भएकाहरुमा कुन भेरियन्ट हो भन्ने भने यकिन भएको छैन । कोरोनाका तीनथरि भेरिएन्ट नेपालमा देखिएको भएपनि यो संक्रमण कुन भेरिएन्ट हो भन्ने पत्ता लगाउन पिसिआर नै गर्नुपर्ने घिमिरेले जानकारी दिए । परीक्षणको दर बढाएमा संक्रमण पनि बढ्ने स्वास्थ्यकर्मीको अनुमान छ ।