म्याग्दी, १४ साउन– जिल्लामा ४० प्रतिशत स्थानीय तह निर्वाचनका उम्मेदवारले मात्र चुनाव खर्च विवरण बुझाएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उम्मे्दवार बनेका सात सय १८ जनामध्ये दुई सय ८६ ले मात्र खर्च विवरण बुझाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले अझै ६० प्रतिशत उम्मेदवारले चुनावको खर्च विवरण बुझाउन बाँकी रहेको बताए । ‘निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ’, उनले भने, ‘सार्वजनिक सूचना, स्थानीय तह, मौखिक रुपमा र सम्बद्ध राजनीतिक दलहरुमार्फत विवरण बुझाउन ताकेता गरेका छौँ ।’
निर्वाचित भएका अधिकांशले विवरण बुझाए पनि पराजित उम्मेदवारले खर्च विवरण बुझाउन रुचि देखाएका छैनन् । अन्नपूर्ण गाउँपालिकाका ६७, धौलागिरि गाउँपालिकाका ४६, बेनी नगरपालिकाका ७६, मंगलाका २४, मालिकाका ४६ र रघुगंगा गाउँपालिकाका २४ उम्मेदवारले खर्च विवरण बुझाएका छन् ।
सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिका र कम रघुगंगा गाउँपालिकाका उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् । जिल्ला समन्वय समितिका नौ जना र कार्यपालिका सदस्य निर्वाचनका ६ उम्मेदवारले पनि खर्च विवरण बुझाएका छन् ।
अन्नपूर्णमा ९८, धौलागिरिमा ८४, बेनीमा एक सय ५६, मंगलामा ९८, मालिकामा एक सय ४७ र रघुगंगामा एक सय ३५ उम्मेदवार थिए । निर्वाचन आयोगले असार मसान्तभित्र विवरण पठाउन निर्देशन दिएको थियो । बुझाएका विवरण आयोगको सफ्टवेयरमा भरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नगरप्रमुख, उपप्रमुख पदका उम्मेदवारले चार लाख ५० हजार, वडाध्यक्षले दुई लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारले तीन लाख ५० हजार र अन्यले एक लाख ५० हजारसम्म खर्च गर्न पाउने आयोगले व्यवस्था गरेको थियो ।