बागलुङ, ३ भदौ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न संघ र प्रदेशको निर्वाचनमा कांग्रेससंगै सहकार्य गरेर जाने बताएका छन् ।
पार्टी प्रशिक्षणको क्रममा गृह जिल्ला आएका केसीले शुक्रवार बेलुकी आयोजित पत्रकार सम्मेलनमा प्रतिगमन बिरुद्धको लडाइमा सफल हुन कांग्रेस संगको गठबन्धन चाहिएको बताए । केसीले एमाले अध्यक्ष केपी शर्मा ओली रहुन्जेल प्रतिगमन जारी रहने भन्दै बिमतीका बाबजुत कांग्रेस सहितको ५ दलीय गठबन्धन चाहिएको बताए ।
एमसीसी, नागरिकता बिधेयक जस्ता बिषयमा राजमोले सत्ता गठबन्धनमा फरक मत राखेको बताए । ‘पंचायत फाल्न कांग्रेसकै साथ चाहियो, गणतन्त्र ल्याउन कांग्रेसनै चाहियो, त्यसैले गणतन्त्र र धर्म निरपेक्षता जोगाउन पनि गठबन्धन बनाउनु परेको हो’ केसीले भने, ‘धर्म निरपेक्षता र गणतन्त्रको मामिलामा बापन्थी भएपनि एमाले भन्दा कांग्रेस इमान्दार देखियो ।’
हिन्दु सम्राट बनाउने र संसद बिघटन गरेर प्रतिगमन ल्याउने ओलीको पक्षमा लाग्न नसकेको उनले बताए । ‘२०७४ सालमा हामी बामपन्थी भनेरै लागेका थियौं, दुइ तिहाइ बामपन्थीको संसद पटक पटक हत्या गरियो’ केसीले भने, ‘संविधानमा व्यवस्था नभएको बिघटन रोज्ने, अध्यादेशबाट देश चलाउनेको अझैपनि केही भर छैन ।’ केसीले प्रतिगमनको अन्त्य नभएसम्म ५ दलीय गठबन्धन चाहिएको बताए ।
नागरिकता बिधेयकको भने केसीले खुलेरै बिरोध गरे । उनले नेपाललाई श्रीलंका, फिजी जस्तो बनाउन नागरिकता बिधेयक ल्याइएको उनको आरोप छ । ‘भारतमा गएका हाम्रा छोरी चेलीले ७ बर्षमा नागरिकताको प्रकृया थाल्न पाउने, बुहारीलाई सिंदुरसंगै नागरिकता चाहिने ?’ केसीले भने, ‘यो बिषयमा भारतीयको गम्भिर चलखेल छ ।’ नेपालका ठूला दल र शिर्ष नेताहरु भारतीयको इशारामा चलेको उनले आरोप लगाए । अध्यादेशबाट ल्याउन चाहेको नागरिकता बिधेयक अहिले कांग्रेसले संसदबाट ल्यायो भनेर एमालेले रोइलो गरेको समेत उनको टिप्पणी थियो ।
आसन्न निर्वाचनमा राजमोले आफ्नो संगठन भएको स्थानमा मात्रै गठबन्धन र उमेदवार दिने केसीले बताए । ‘संगठन नभएको स्थानमा पनि चाहिएन, नागरिकताको एजेण्डामा लिप्त पनि बन्दैनौं’ केसीले भने, ‘बरु एक्लै लड्न पनि राजमो तयार छ ।’ कार्यक्रममा अध्यक्ष केसीले देशको समसामयिक राजनीति, गठबन्धन र देशको परिस्थितिबारे लामो टिप्पणीसमेत गरेका थिए । प्रगतीशिल पत्रकार संघका सचिव बिजय रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।