म्याग्दी, १६ बैशाख – वर्षा याममा कालीगण्डकी नदीले कटान गरेको सडक पुननिर्माण नहुँदा यहाँका सर्वसाधारण मर्कामा परेका छन् । पर्वतको जलजला गाउँपालिका वडा नं. १, २ र ३ वडा जोड्ने सडक नदीले क्षति पु¥याएको एक वर्ष बितिसक्दा समेत पुननिर्माण नभएको हो ।
छिमेकी जिल्ला म्याग्दीको सदरमु्काम बेनी बजारसँगै जोडिएको बगरफाँटका सर्वसाधारणले सडक मर्मत नहुँदा सास्ती खेप्नुपरेको स्थानीय राम बिश्वकर्माले बताए । बगरफाँटमा करिब ५ सयभन्दा बढी घर परिवारको बसोबास रहेको छ । सडक मर्मत नहुँदा दैनिक उपभोग्य सामान ढुवानी गर्न, स–सना बालबालिका विद्यालय आउजाउ गर्न र बटुवालाई हिँडडुल गर्न कठिन रहेको स्थानीय सविता गुरुङले बताईन् ।
सवारी साधन चल्ने अवस्था नरहेकाले सर्वसाधारणले दैनिक उपभोग्य सामान बेनी बजारबाट जोखिमयुक्त सडकमा महंगो मुल्य तिरेर जिर्ण अवस्थामा रहेको झोलुङ्गे पुलको बाटो ल्याउनुपर्ने अवस्था छ । ‘बगरफाँटमा बसेर व्यवसाय गर्ने अवस्था छैन्, मान्छेले ढुवानी गर्दा मुल्य बढी पर्छ, सवारी आउने सडक छैन्’ स्थानीय व्यापारी प्रमाण गुरुङ भन्छन् ‘स्थानीय तहले योजना बनाएर मर्मत गरे सडक सहज चल्थ्यो ।’
कालीगण्डकी नदीले बगरफाँटको सडक वर्षेनी कटान गर्छ । वर्षायाममा सडक कटान भएको र त्यहिं नजिकै माथिबाट पहिरो झरेर सडक बगाएको थियो । पहिरो झर्दा म्याग्दी बेनी बजारको कालीपुल नजिकको केही घरहरुलाई क्षति पुगेपछि सडकको पुननिर्माणमा म्याग्दीको कालीपुलवासीले विरोध गर्ने गरेका छन् । सर्वसाधारणको बिरोध र जलजला गाउँपालिका तथा बेनी नगरपालिकाको योजनाबद्ध पुननिर्माणको योजना नहुँदा समस्या परेको गुरुङ बताउँछन् ।
बगरफाँटबासीले मोटरबाटो नहुँदा आवतजावतको लागि जिर्ण अवस्थामा रहको झोलुङ्गे पुलको प्रयोग गर्दै आएका छन् । झोलुङ्गे पुलमा एक पटकमा दश जनाभन्दा बढी आवतजावत गर्न नसकिने अवस्था छ । सरोकारवालाले सडक खुलाउन कुनै पहल नगरेको उनको आरोप छ । जलजला र बेनीले भने स्थानीयको बीचमा विवाद रहेकाले सडक मर्मत गर्न नसकेको बताउँदै आएका छन् ।