बागलुङ, १२ जेठ– बागलुङ बजारमा ट्राफिक व्यवस्थापनका लागि जग्गा खोजी गरिने भएको छ । ट्राफिक व्यवस्थापनमा असहज हुँदा दुर्घटना निम्तीने भएका कारण जग्गा खोजी व्यवस्थापन गरिने भएको हो
बागलुङ नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि आएसँगै बागलुङ बजार क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि पहिलो पहल स्वरुप बजारमा ट्राफिक व्यवस्थापनका लागि जग्गा खोजी गरिने नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।
बजारमा बढ्दो सवारी साधनको चापले हरेक नागरिकले सास्ती खेप्नुपर्ने भएका कारण नगरपालिकाले पहिलो प्राथमिकता ट्राफिक व्यवस्थापनका निम्ति दिएको नगरप्रमुख श्रेष्ठको भनाई थियो ।
जग्गा व्यवस्थापनका निम्ती बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष सुरज बोसेलको संयोजकत्वमा बजार क्षेत्रका वडा अध्यक्ष सहितको समिति पनि बनाईएको उनले जानकारी दिए । समितिको सदस्यमा वडा नम्वर १ का वडा अध्यक्ष जयबहादुर खत्री ३ का अध्यक्ष सोनी केसी लक्ष्मण र ४ वडा अध्यक्ष कुमारविक्रम क्षेत्री रहेका छन् ।
समितिले अबको १० दिन भित्र निजी तथा सरकारी जग्गाको अध्ययन गरी आवश्यक प्रतिवेदन पेश गर्नुपर्ने नगरप्रमुख श्रेष्ठले बताए । कार्यपालिका बैठकले विभिन्न विषयगत समिति गठन गरी जिम्मेवारी तोकेको छ । पहिलो चरणमा पाँच वटा विषयगत समिति गठन गरिएको हो ।
नगर कार्यपालिकाले बागलुङ प्रवेशद्धारको रुपमा रहेको मालढुंगामा पुल नजिकै रहेका व्यापारिक होडिङ बोर्डलाई हटाउने र लाईटिङ प्रविधिको डिजिटल होडिङबोड राख्ने निर्णय गरेको छ । त्यसका लागि तत्काल काम अगाडी बढ्ने नगरप्रमुख श्रेष्ठले बताए ।