बागलुङ, २४ जेठ– चालु आर्थिक वर्षका लागि बागलुङ नगरपालिकाले १० करोड बढाएर एक अर्ब पाँच करोड ६८ लाख ३० हजार बजेट ल्याएको थियो । नगरपालिकाको आन्तरिक आम्दानीसमेत वार्षिक एक करोडका दरले वृद्धि भइरहको छ ।
आगामी आर्थिक वर्षका लागि भने संघीय सरकारले १० करोड बजेट बढाएर पठएका कारण नगरपालिकाको बजेट झन्डै एक अर्ब १५ करोडसम्म पुग्ने अनुमान गरिएको छ । बजेट बढेर आउने भएपछि केही योजनासमेत थपिएर आउने भएका छन् । अहिले नगरपालिकाले वडा कार्यालयको समन्वयमा टोल–टोलमै गएर बजेट तथा कार्यक्रमका विषयमा छलफल चलाउँदै योजना संकलन कार्यक्रम चलाएको छ ।
स्थानीय जनताको मागअनुसार बजेट तथा कार्यक्रम ल्याउनका लागि अहिले नगरपालिकाले बजेट बढाएर ल्याउने योजनामा छ । उक्त नगरपालिका मात्रै हैन संघीय सरकारको बजेट आइसकेपछि जिल्लाका १० स्थानीय तह बजेट तथा योजना निर्माणमा जुटेका छन् । पालिकाहरुले टोल भेला गरेर आगामी योजना मागिरहेका छन् भने प्रदेश र केन्द्रमा आफ्नो बजेटले नभ्याउने योजनाहरु निर्णय नै गरे पठाएका छन् ।
यसपटक जिल्लाका पालिकाको बजेटका लागि संघबाट ४७ करोड बढेर आएको र प्रदेशबाट समेत बढ्ने देखिन्छ । स्थानीय तहले अघिल्लो वर्षको तुलनामा यस वर्ष बजेट केही मात्र बढाएर ल्याउने तयारी गरेको छ । यो पटकको बजेट ठूला योजनामा केन्द्रित हुने बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।
‘यस पटकको बजेट अलि ठूला योजना र पूर्वाधारमै बढी केन्द्रित हुन्छ, कनिका छर्ने बजेट ल्याइने छैन,’ उनले भने, ‘अहिले वडा तहमै योजनाको विषयमा छलफल तथा योजना संकलन भइरहेको छ, वडाध्यक्षहरुलाई देखिने योजना ल्याउनु भनेको छु, साना योजना भैपरी आउनेबाट खर्च गर्ने नगरको योजना छ, वडाध्यक्षले ल्याएको योजनामा नगरपालिकाले समृद्ध नगरका लागि आवश्यक पूर्वाधारका रुपमा बजेटको व्यवस्था गरिन्छ ।’
दुर्गम गाउँलाई सुगमोन्मुख बनाउने योजनाका साथ तमानखोला गाउँपालिका पनि बजेट निर्माणमा जुटेको छ । आगामी दिनमा विकट गाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा, शिक्षामा गुणस्तर सुधार र स्वास्थ्य सुधारलगायत योजनालाई प्राथमकिताम राखेर बजेट ल्याइने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।
बडिगाड गाउँपालिकालाई आगामी आर्थिक वर्षमा १७ करोड ९१ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा बजेट बढेर तीन करोड ९९ लाख बढेर आउने भएको छ । अहिले उनीहरुकै आवश्यकतालाई सुनेर योजना संकलन गर्ने काम भइरहेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् । –रासस